३ भदौ, रुपन्देही । मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले भैरहवामा गरेको बन्द अराजक भएपछि स्थानीयवासीहरु प्रतिकारमा उत्रिँदा स्थिति तनावग्रस्त बनेको छ । भैरहवामा दुवैपक्षबीच झडप हुँदा विहीबार भैरहवा तनावग्रस्त रह्यो । बन्दकर्ताहरुले गाउँगाउँबाट विभिन्न सवारी साधनमा स्थानीयलाई भैरहवामा ल्याएका थिए । हजारौंको संख्यामा रहेको बन्दकर्ताहरुले विभिन्न पसलमा तोडफोड गरेपछि स्थानीयहरु प्रतिकारमा उत्रेका थिए । आफूहरु विभिन्न सवारी साधनमा चढेर शहर आउने र सर्वसाधारणलाई भने सवारी साधन चढन नदिने र पसल पनि खोल्न नदिने भन्दै स्थानीयवासीले प्रतिकार गरेका थिए । स्थानीयहरुले प्रतिकार गर्दा बन्दकर्ताहरुले प्रयोग गरेका दर्जनौं सवारी साधनमा आगजनी गरेका छन् ।
आगजनीका कारण आठ वटा सवारी साधन नष्ट भएको जानकारी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले नेपालदेश डट कमलाई दिए । करिब एक दर्जन पसलहरु समेत तोडफोड भएको उनले बताए । कति मूल्य बराबरको धनमालको क्षति भएको छ भन्ने यकिन भैनसकेको पनि उनले नेपालदेश डट कमलाई बताए ।

जनधनको क्षति रोक्न विहीबार साँझ ८ बजेदेखि शुक्रबार विहान ५ बजेसम्मका लागि कर्फ्यु लगाइएको ढकालले जानकारी दिए ।
पूर्वमा बसन्तपुर, पश्चिममा एयरपोर्ट, उत्तरमा पडसरी र दक्षिणमा बेलहिया नाकासम्म कर्फ्यु लगाइएको छ ।
दिनभरको झडपमा परी करिब चौध जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको जानकारी समेत प्रमुख जिल्ला अधिकारी ढकालले दिए । सबै घाइतेको उपचार भैरहवामै भइरहेको छ । कर्फ्युपछि जिल्लाका अवस्था सामान्य रहेको ढकालले टेलिफोनमार्फत नेपाल देशलाई दिए ।











