सेयर बजारले अहिलेसम्मको सर्वाधिक उच्च विन्दुलाई क्रस गरेर रेकर्ड तोडेको छ। बुधबार सेयर बजार परिसूचक ३२ अंकले बढेर ११९१ पुगेको छ।
नेपालको सेयर बजारको अहिलेसम्मको उच्च विन्दु ११७५ हो। बाणिज्य बैंक तथा वित्तिय संस्थाहरुको पुँजी बढाउने निर्णयपछि २०६५ मा भदौंमा शेयर बजार परिसूचक ११७५ बिन्दु छोएको थियो। त्यसपछि बजार ओरालो लागेको थियो।
पुँजी बढाउने राष्ट्रबैंकको नीति, संविधानको सुनिश्चिता र अनिवार्य डिम्याट पद्धति (अभौतिकीकरण) सुरुवातसँगै सेयर बजार आकासिएको छ। सोमबार मात्रै सेयर बजार परिसूचक ४५ अंकले बढेको थियो भने मंगलबार पनि दुई अंकले बढेको थियो। ३२ अंकले सेयर परिसूचक बढ्दा बुधबार ६६ करोडको कारोबार भएको छ। सेयर परिसूचक वृद्धिसँगै कारोबारको आकार पनि बढ्दै गएकोले यो सुधार दिगो हुने विश्वास लगनीकर्ताहरुले गरेका छन् ।
बुधबार बजार बढ्नुको अर्को कारण कमाएको नाफाबाट बोनस मात्रै बाँड्नु भनेर राष्ट्र बैंकले दिएको निर्देशन हो। नेपाल राष्ट्र बैंकले बुधबार नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको मुनाफाबाट नगद लाभांश वितरणको प्रस्ताव नल्याउन बैंक तथा वित्तिय संस्था निर्देशन दिएको छ। पुँजी वृद्धिको प्रयोजनका लागि नाफाबाट बोनस मात्रै वितरण गर्न निर्देशन दिएपछि लगानीकर्ता थप उत्साहित भएका छन्।
२०६५ भदौंमा सेयर बजार ११७५ पुग्दा डा। चिरञ्जीबी नेपाल धितोपत्र बोर्डका अध्यक्ष थिए भने अर्थमन्त्री अहिले डा।रामशरण महत नै थिए। अहिले सेयर बजारले नयाँ कीर्तिमान कायम गर्न लाग्दा नेपाल राष्ट्र बैंकका गभर्नर छन्।
गत वर्षको साउनमा सेयर बजार बढेर १०८३ पुगेको थियो। त्यसपछि विस्तारै बजार घट्न थालेको थियो। केही सुधारको बाटोमा रहेको सेयर बजार वैशाख १२ को विनाशकारी भूकम्पपछि पुरै सुस्ताएको थियो।
भूकम्पपछि सुस्ताएको सेयर बजार संविधान निमार्णका लागि दलहरुबीच १६ बुँदे सहमति भएपछि केही सुधार भएको थियो। सुधारको क्रममा रहेको सेयर बजारलाई उकास्ने काम मौद्रिक नीतिले गरेको छ। भूकम्पपछि सेयर बजार सय अंक घटेर ८३८ मा पुगेको थियो।
नयाँ राजनीतिक सहमतिसँगै संविधान बन्ने अवस्था सुनिश्चित भएपछि पुँजी बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छ। बाणिज्य बैंक तथा अन्य वित्तिय संस्थाहरुको पुँजी बढाउने राष्ट्र बैंकको नीतिपछि सेयर बजारमा उछाल देखिएको हो । त्यसलाई सिमांकनसहितको नयाँ राजनीतिक सहमतिले बल पुर्याएको थियो।

साउन ३२ देखि अधिकांश बाणिज्य बैंक तथा कम्पनीहरुको सेयर कारोबार डिम्याट पद्धितबाट अनिवार्य रुपमा गर्ने नियम लागु गरिएकोले बजारमा सेयर आपूर्ति कम भएकोले पनि बजार एक्कासी उकालो लागेको विश्लेषण गरिएको छ। सेयरको ठूलो हिस्सा डिम्याट र नामसारी प्रकियमा रहेकोले पनि बजारमा सेयरको अभाव रहेको छ।खरिदकर्ताहरुको चाप भने निकै उच्च छ।बढी नाफा कमाएका र बोनस तथा हकप्रद सेयर जारी गरेर आफै आठ अर्ब पुँजी पुर्याउनसक्ने बैंकहरुको सेयर मूल्य उच्च दरमा बढेको छ।
संविधान बन्ने अवस्था सुनिश्चित भएर राजनीतिक वातावरण अनुकुल भएको अवस्थामा पुँजी बढाउने समयसिमा तोकेर आएको मौद्रिक नीतिका कारण शेयर बजारले यसपटक नयाँ कीर्तिमान कायम गर्ने विश्लेषण विज्ञहरुले गरेका छन्।













