२ भदौ, कपिलुवस्तु । कपिलबस्तुको तौलिहवामा पनि गोली चलेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले स्थिति नियन्त्रण लिन हवाइ फायर गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्।
यसअघि प्रहरीले स्थिति नियन्त्रणका लागि दर्जनौ सेल अश्रुग्यास प्रहार गरेका थिए।
घाइते हुनेको हात र खुट्टामा प्रहरीको गोली लागेको छ। गोली लागि घाइते हुनेमा पुन्नवासी कहार र राजेन्द्र महरा छन्। उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको स्थानीय प्रशासनले जनाएको छ। अहिले पनि तौलिहवामा स्थिति तनावग्रस्त छ ।
बन्दकर्ताहरुले एक्कासि ढुङ्गा तथा गुलेली प्रहार गर्दा नियन्त्रण गर्नेक्रममा प्रहरी हवल्दार डिल्लीराम खनाल र प्रहरी जवान सोमप्रकाश यादव घाइते भएको प्रहरीले जनाएको छ। यसैगरी बन्दकर्ताले बुधबार कपिलबस्तु तितिर्खी–४ स्थित गाबिस भवनको ताला फोडेर कार्यालयका सम्पूर्ण कागजातलगायत कुर्चीहरुसमेत बाहिर ल्याई जलाएका छन् ।











