१ भदौ, सप्तरी । सप्तरीको भारदहमा प्रदर्शनकारीले प्रहरी कार्यालयतर्फ गोली चलाएका कारण वचाउका लागि प्रहरीले फायर खोलेको जनाएको छ । प्रदर्शनकारीले चलाएको गोलीका कारण प्रहरी कार्यालयको भित्तामा तीन वटा प्वाल परेका छन् । पहिले ‘फायर खोलेपछि’ प्रत्याक्रमणमा प्रहरीले गोली चलाउँदा २८ वर्षीय राजीवकुमार राउतको मृत्यु भएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय भारदहका डीएसपी नारायणप्रसाद चिमौरियाले प्रहरी कार्यालयतर्फ लक्षित गरी प्रदर्शनकारी समूहबाट फायरिङ भएको बताए।
‘करिब ७ सय व्यक्तिहरुको समूहले इलाका प्रहरी कार्यालयलाई घेराबन्दी गरी आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको उनले प्रष्ट पारे ।
सर्वसाधारणलाई कुटपिट गरेको भन्दै भारदहवासी तीन गाउँका बासिन्दाले प्रहरीलाई ‘नाकाबन्दी’ गर्ने नाममा अमानवीय व्यवहार गरेका थिए । प्रहरीलाई पसलबाट खानेकुरा किन्नसमेत स्थानीयले रोक लगाएका थिए ।
ड्युटीमा रहेका प्रहरीले भोक लागेपछि मंगलबार बिहानै एक प्रहरी जवानले भारदह चोकमा चाउचाउ किनेका थिए । चाउचाउ किनेको देखेपछि स्थानीय व्यक्तिहरुले उनलाई लखेटेका थिए ।
लखेटिएका प्रहरीको बचाउमा इलाका प्रहरी कार्यालय भारदह अन्य प्रहरीहरु सडकमा निस्के र प्रदर्शनकारीलाई तितरवितर पार्न खोजे । तर प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थालेका थिए। प्रहरी कार्यालयमाथि त्यसपछि गोली समेत चलेपछि प्रहरीले हवाइ फायर गर्नुको साथै रवरको गोली चलाएको थियो ।












