आकाशकुमार राजभण्डारी
१ भदौं, सप्तरी । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर मृत्यु भएका राजिव राउतको शवलाई धरान लगिएको छ । गोली लागे लगत्तै मृत्यु भएका ३५ बर्षीय राउतको केही श्वास आएजस्तो भएको र बाँच्न सक्ने भन्दै प्रहरीकै अगुवाईमा शव बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो ।
मृत्यु भइसकेका राउतको शवलाई एम्बुलेन्स मगाएर प्रहरीले राख्न लगाई धरान पठाएका हुन् । धरान जानेबित्तिकै चिकित्सकले मृत भन्दै पोष्टमार्टम रुममा राख्न लगाएको मृतकका आफन्त बिनोद राउतले टेलिफोनमार्फत जानकारी दिएका छन् ।
गोली लागेर मृत्यु भएका राउतलाई चिकित्सकले पनि मृत घोषणा गरेपछि परिवारजनले शव बुझ्न अस्वीकार गरेका छन् । आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि मधेशी मोर्चाका नेताहरुलाई यहाँ आएर शव बुझ्नुपर्ने आफन्तहरुको भनाई छ ।
कर्फ्यु घोषणा

प्रहरीको गोली लागेर सर्वसाधारण राउतको घट्नास्थलमै ज्यान गएपछि प्रशासनले भारदह आसपास क्षेत्रमा कफर््यु घोषणा गरेको छ । आज ४ बजेदेखि भोली बिहान ५ बजेसम्मका लागि कर्फुयु लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो ।
राउतको मृत्यु पश्चात कुनै किसिमको आन्दोलन र प्रदर्शन नभए पनि सम्भावित आशंकाले कर्फुयु लागू गरिएको उहाँले बताउनु भयो ।
पूर्वमा भारदहको कंकालिनी मन्दिरदेखि पश्चिम टेम्पो स्टेण्ड, उत्तरमा पोर्ताहा हटियासम्म तथा दक्षिणमा सकरदही पुलदेखि तीन सय मिटर दक्षिण क्षेत्रसम्म कर्फुयु लागू गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
पत्रकारमाथि पनि कुटपिट
प्रहरीले प्रदर्शन र झड्पको समाचार सम्प्रेषण गर्न आएका संचारकर्मीलाई समेत कुटपिट गरेका छन् । ‘तँ यहाँ किन आइस्, जान्दिनँ पत्रकार, सत्रकार भन्दै प्रहरीको भिंडले नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य तथा ग्रीन मधेश दैनिकका संवाददाता राजकुमार पासवानलाई कुटपिट गरेका हुन् । प्रहरीले अर्का पत्रकार गंगा प्रसाद साहलाई पनि यहाँबाट भाग्न भन्दै अश्लिल किसिमको गालीगलौज गरेका छन् ।











