१ भदौ, सप्तरी । तराई बन्दका क्रममा मंगलबार झडप हुँदा प्रहरीको गोली लागेर सप्तरीमा एकजनाको मृत्यु भएको छ ।
सप्तरीको भारदहमा सडक अबरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर स्थानीय राजिव रौतको मृत्यु भएको हो ।
दोहोरो झडपमा संघीय समाजवादी जिल्ला अध्यक्ष दिनेशकुमार यादवसहित १५ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुलाई सगरमाथा अन्चल अस्पताल र विराटनगरमा उपचारका लागि पठाइएको छ ।

नयाँ संविधानको मस्यौदामा असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले सप्तरीमा तीन दिनदेखि बन्द गराउँदै आएको छ । पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेर बसेकाहरुलाई हटाउने क्रममा विहानैदेखि झडप भएको थियो । प्रदर्शनकारीले प्रहरीको एउटा भ्यान तोडफोड गरेका छन् । रोकिराखेको ट्रकमा आगजनीको प्रयास समेत गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
सो क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि सप्तरीको भारदह खण्ड अबरुद्ध छ ।











