३२ साउन, काठमाडौं । सामाजिक सद्भाव भड्काउने र देश विखण्डन समेत गर्ने धम्की दिने तीन दलका तीन नेतालाई कारवाही गरिने भएको छ । त्यसको थालनी व्यवस्थापिका संसदमा सुरु भएको छ । सोमबारको संसद बैठकमा गृहमन्त्री बामदेव गौतमले सभासदहरु अमरेशकुमार सिंह र उपेन्द्र यादवले कैलालीको टीकापुरमा भएको कार्यक्रममा द्वन्द्व चर्काउने र जातीय आवेग उत्पन्न हुने अभिव्यक्ति दिएको भन्दै यसबारे छानबिन गर्न संसदको ध्यानाकर्षण गराएका छन्। ब्यवस्थापिका संसदमा जवाफ दिँदै गृहमन्त्री गौतमले सभासदहरुले नै द्वन्द्व चर्काउने, जातीय आवेग उत्पन्न गराउने अभिब्यक्ति दिनु दुःखद भन्दै कारबाही अगाडि बढाउन उनीहरुले गरेको भाषणको अडियो र त्यसको लिखित रुप सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाए । गौतमले दिएको अडियो टेप व्यवस्थापिका संसदअन्तर्गतको राज्य व्यवस्था समितिमा पठाएर छानविन गरिने भएको छ ।
केही दिनघि थारु समुदायको आन्दोलनमा संबोधन गर्न कैलालीको टीकापुर पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंह र सद्भभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय सार्वभौमिकता विरुद्ध अभिब्यक्ति दिएको भन्दै आइतबारको ब्यवस्थापिका संसदमा सभासदहरुले गृहमन्त्रीको जवाफ मागेका थिए। कैलालीमा गएर सामाजिक सद्भाव फैलाउने सार्वजनिक अभिव्यक्ति दिएपछि तीनै जना नेतालाई त्यहाँको स्थानीवासिन्दाले लखेटेका थिए । प्रहरीले उनीहरुलाई कडा सुरक्षा दिंदै भित्री बाटोबाट रातारात नेपालगंज पुर्याएको थियो ।
राजेन्द्र महतो भने सभासद् नभएकोले उनलाई कसरी कारवाही गर्ने भन्ने निश्चित भैसकेको छैन ।
देश समेत विखण्डन गर्ने धम्की दिने अमरेश सिंहलाई भने उनकै पार्टी नेपाली कांग्रेसले समेत स्पष्टीकरण सोधिसकेको छ । पार्टीलाई स्पष्टीकरण दिंदै सिंहले आफू स्तब्ध भएको जवाफ दिएका थिए ।
हेर्नुहोस : स्पष्टीकरणबारेको समाचार ।
यसअघि रक्षामन्त्री रहेकै बेला देशद्रोही अभिव्यक्ति दिने शरतसिंह भण्डारीले मन्त्री पदबाट नै राजिनामा दिनुपरेको थियो । मधेसी नेताहरुलाई लाग्ने गरेको आरोप उनीहरुले नै बारम्बार दिने धम्कीपूर्ण अभिव्यक्तिका कारण पुष्टी हुँदै आएको देखिन्छ ।











