३२ साउन, काठमाडौं । गत रातिको अविरल वर्षाले वाग्मती थुनिएर त्रस्त बनेको शान्तिनगर क्षेत्रका वासिन्दालाई सोमबार राति पुनः अर्को त्रास थपियो । शान्तिनगरस्थित वाग्मती पुलको उत्तरतर्फको डाइभर्सन थुनिँदा आइतबार राति वाग्मती किनाराका वस्ती डुवेका थिए । उत्तरतर्फको डाइभर्सन दिउँसो डोजर लगाएर भत्काएपछि अहिले दक्षिणतर्फको डाइभर्सन थुनिएको छ । रुखका हाँगा, काठ लगायतका कुराले उत्तरतर्फको डाइभर्सन थुनिने गरे पनि भीएस निकेतन अगाडिको दक्षिणी डाइभर्सन चाहिं थुनिएको थिएन ।
उत्तरी डाइभर्सन भत्काउँदा रुखका हाँगा, काठ र झारपात दक्षिणी डाइभर्सनमा थुनिँदा सोमबार साँझ वाग्मती डरलाग्दो भएको छ । अहिले डाइभर्सन थुनिएर भीएस निकेतन नेरको बाटो हुँदै पानी वगेको छ । वाग्मती थुनिएको दृश्य हेर्न त्यस क्षेत्रमा मानिसको भीड लागेको छ भने प्रहरीको उच्च अधिकारी अवलोकनका लागि त्यहाँ पुगेका छन् । डाइभर्सन आजै भत्काउने या नभत्काउने विषयमा कुनै निर्णय हुन सकेको छैन ।











