३२ साउन, काठमाडौं । वर्षा भयो कि वाग्मतीका डाइभर्सन थुनिने समस्याले वाग्मती किनारका वासिन्दाले त्रासमा रात विताउनु परेको छ । गत राति परेको अविरल वर्षाले तीनकुनेस्थित डाइभर्सनका कारण वाग्मतीको बहाव बारम्बार रोकिँदा वरपरको वस्तीमा पानी पसेको छ । बहाब रोकिएर पानी जमेपछि वरपरको सुकुम्बासी बस्तीमा पानी पसेको छ । डाइभर्सन खुलाइएपछि अहिले बागमतिको बहाब फेरि सामान्य अवस्थामा फर्किएको छ ।
उपत्यका सडक विस्तार आयोजनाले तीनकुनेको वाग्मती पुलभन्दा उत्तरतर्फ बनाएको डाइभर्सन तीनपल्ट बनाउने र तीनपल्ट भत्काउने काम भैसकेको छ । केही दिन समस्या नआएपछि डाइभर्सनलाई पूर्ण रुप दिइए पनि फेरि परेको वर्षाका कारण हाँगाविँगा र झारपातले डाइभर्सन थुनिएपछि पुनः भत्काइएको छ ।
आइतबार राति परेको अविरल वर्षाका कारण बागमतिमा पानीको बहाव बढेको थियो । बाढीले ल्याएको झार, फोहोर, काठका टुक्राले डाइभर्सन थुनिएपछि बागमतिको बहाब थियो ।
पुलभन्दा उत्तरतर्फको डाइभर्सन केही दिन पहिले भत्काएर त्यसमाथिबाट पानी बहने व्यवस्था मिलाए पनि आज राति फेरि बहाव रोकिएको थियो ।
वाग्मती पुलभन्दा दक्षिणतर्फको भिएस निकेतन कलेजअगाडि बनाइएको डाइभर्सनमा भने खासै समस्या आएको छैन । तर उत्तरतर्फको यो डाइभर्सनको औचित्यमाथि आशंका उब्जिएको छ । आयोजनाले पानीको बहाव समेत उचित रुपले हुन नसक्ने डाइभर्सन बनाएकोबारे छानविन गर्नुपर्ने आवाज उठेको छ ।











