२९ साउन, काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका ११ सचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले गरेको सरुवाको निर्णय शुक्रबार मात्र जानकारीमा आएको हो ।
सरकारले गरेको सरुवाअनुसार योजना आयोगका शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगमा, निर्वाचनका मधु रेग्मीलाई वन मन्त्रालयमा, राष्ट्रपति कार्यालयका अनुपकुमार उपाध्यायलाई सिंचाइ मन्त्रालय, जल तथा ऊर्जा आयोगका गजेन्द्र ठाकुरलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, पर्यटनका सुरेशमान श्रेष्ठलाई योजना आयोगको सचिवमा सरुवा गरिएको छ ।
सिंचाइ मन्त्रालयका माधव रेग्मीलाई स्थानीय विकासमा, वन मन्त्रालयका सचिव शंकर अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय, सामान्य प्रशासन सचिव राजन खनाललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा, पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेश थपलियालाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव टंकमणि शर्मालाई सामान्य प्रशासनको सचिवमा र राष्ट्रिय सतर्कता केन्द्रका सचिव रमेशुकमार शर्मालाई शान्ति मन्त्रालयमा सरुवा गरिएको छ ।











