२९ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र प्रहरी विच बानेश्वरमा झडप भएको छ । नयाँ संविधानमा नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै राप्रपा नेपालले शुक्रबार संविधान सभाबाहिर गरेको प्रदर्शनमा झडप भएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेतृत्व गरेको जुलुशले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच केही बेर झडप भएको थियो । विदेशीको इशारामा लागेर नेपाललाई धर्म निरपेक्ष बनाइएको आरोप लगाउँदै सो पार्टीले नारावाजी समेत गरेको थियो ।
बबरमहलबाट अगाडि बढेको जुलुशले निषेधित घेरा क्षेत्र तोडेर अगाडि बढ्दा समेत प्रहरीले बल प्रयोग गरेको थिएन ।

संविधानसभाको तिन नम्बर गेटमा पुगेपछि प्रहरीले उत्तेजित आन्दोलनलाई नियन्त्रणमा लिन एक दर्जन बढी अश्रु ग्याँस प्रहार गरेको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेतृत्व गरेको उक्त जुलुसलाई पटक पटक प्रहरीले संयमता अपनाउँदा पनि तीन नम्बर गेटमा प्रदर्शनकारी जान खोजेपछि प्रहरीले लाठी चार्ज समेत गरेको थियो । प्रहरीको हस्तक्षेप पछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रहरीले गरेको दमन निन्दनिय एवं भर्सना योग्य रहेको बताए । उनले प्रहरीको दमनबाट आफूहरु एक इन्च पनि पछि नपर्ने भन्दै नेपालमा हिन्दु राष्ट्र कायम नभए अझै सशक्त आन्दोलन हुने चेतावनी समेत दिए ।












