२८ साउन, काठमाडौं । सत्तारुढ काग्रेस र एमालेबीच पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा भागबन्डा भएपछि सरकारले डा गोविन्दराज पोखरेललाई प्राधिकरणको सिइओमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आयोगका उपाध्यक्ष पोखरेललाई सिइओ बनाउने निर्णय गरेको हो । दुई दलबीच विवाद हुदा लामो समय सम्म सिइओ नियुक्त हुन सकेको थिएन । प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानमन्त्री बामदेव गौतमबीच बिहिबार दिउँसो छुट्टै छलफल भएपछि पोरखेललाई नियुक्त गर्ने निर्णय भएको हो । स्रोतका अनुसार अब एमालेको कोटाबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त हुनेछन् । भावी सरकारको समिकरणलाई ख्याल गर्दै आयोग उपाध्यक्ष एमालेले लिन तयार भएको हो ।
प्राधिकरणमा गृह, अर्थ, पर्यटन र शहरी विकासमन्त्री सदस्य रहनेछन् । त्यस्तै विज्ञबाट प्राधिकरणमा भूगर्भविद् तारानिधि भट्टराईलाई नियुक्त गर्ने निर्णय भएको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए । एमालेको कोटाका विज्ञ भने पछि नियुक्त हुनेछन् । मन्त्रिपरिषद्ले माघ १ गते योग दिवस मनाउने निर्णय गरेको छ । स्रातका अनुसार सुर्खेतकोआन्दोलनमा घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति दिने बिषयमा मन्त्रिपरिषदेमा सैद्धान्तिक सहमति भएको छ । प्रदेशको सिमांकनको बिषयलाइ लिएर सुर्खेतमा मृत्य भएको थियो । मन्त्रिपरिषद्ले सचिवहरु श्रीधर गौतम र नवराज भण्डारीको राजिनामा स्वीकृत गरेको छ ।
सुर्खेतका मृतकका परिवारलाई क्षतिपूर्ति दिइने
चार दलले सहमति गरेको प्रदेश सीमांकनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिँदा प्रहरीको गोली लागि सुर्खेतमा मृत्यु भएका तीन व्यक्तिका परिवारलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गरिदिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसैगरी सरकारले प्रत्येक वर्ष माघ १ गते योग दिवस मनाउने भएको छ । मन्त्रिपरिषद् बैठकले योग दिवस मनाउने निर्णय गरेको हो ।
दुई सचिवको राजीनामा स्वीकृत
मन्त्रिपरिषदले सचिवद्वय श्रीधर गौतम र नवराज भण्डारीले दिएको राजीनामा स्वीकृत गरेको छ । गौतमले आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाएकामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । भण्डारीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । भण्डारी पत्नीको डीभी परेको र उनले समेत ग्रिनकार्ड लिइसकेकाले राजीनामा दिएको स्रोतले उल्लेख गरेको छ ।











