एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी गर्न नदिनेहरुको चलखेल बढेको भन्दै ठूला दुर्घटना हुन सक्नेतर्फ सचेत गराउनुभएको छ । व्यवस्थापिका संसदको बिहीबारको बैठकमा प्रचण्डले संविधान जारी हुनुअघिका अबका १०–१५ दिनमा ठूला दुर्घटना हुन सक्ने बताएका हुन् । २००७ र २०४६ सालमा आन्दोलनपछिका घटनाहरुको उदाहरण दिँदै प्रचण्डले राजनीतिक नेतृत्व सचेत भएन भने ठूला दुर्घटना हुन सक्ने उल्लेख गरे । अहिले सडकमा अधिकार खोज्नेहरु र संविधान विरोधी दुवै थरी देखिएको भन्दै प्रचण्डले तिनलाई चिनेर राजनीतिक दलहरुले फरक फरक ब्यरबहार गर्नुपर्ने बताए । प्रचण्डले संविधानसभा राज्यबाट हेपिएका र पछाडि पारिएकाहरुको मात्र चाहना हुने भन्दैे संविधान नबनेमा त्यो समुदाय सबैभन्दा बढी समस्यामा पर्ने धारणा पनि राखे ।
हिजो २००७ सालदेखि माग भएको संविधानसभा पहिला राजा महाराजाहरुले रोकेपनि अहिले परिवर्तनहरुले रोक्न खोजेको प्रचण्डले आरोप लगाए । अघिल्लो संविधानसभामा पहिचान सहितको ११ प्रदेशमा सहमति हुँदा आफ्नै पार्टी र केही मधेशी दलहरुले विरोध गर्दा संविधानसभा बिघटन भएको स्मरण गर्दै प्रचण्डले अहिले ती शक्ति सडकमा ढुंगा हानेर आत्मरतिमा रमाएको टिप्पणी पनि गरे ।
संविधानसभा समाजको शक्ति सन्तुलनको दस्तावेज हो भन्दै प्रचण्डले कुनै पार्टीले पनि भनेजस्तो संविधान बन्न नसक्ने स्पष्ट पारे । अहिलेको संविधानको मस्यौदा बर्तमान शक्ति सन्तुलनको उत्कृष्ट दस्ताबेज भएको उनको भनाइ छ ।











