साउन २८ / जिल्ला न्यायाधीशको पदमा नियुक्त भएका ५८ जनाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । पुनरावेदन अदालत, पाटनका मुख्य न्यायाधीश शम्भुबहादुर खड्काले ५८ जिल्ला न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन ।
न्यायपरिषद्को बैठकले यही साउन २१ गते ६० जना उपसचिवलाई जिल्ला न्यायाधीशका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको थियो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सोही दिन जिल्ला न्यायाधीशमा नियुक्ति गरेका थिए ।

जिल्ला न्यायाधीशमा सिफारिस भएका शरदचन्द्र लवट र अवनी मैनाली ९भट्टराई० काठमाडौँ बाहिर रहेका कारण सपथ ग्रहण गर्न आएका थिएनन् ।
जिल्ला न्यायाधीशको रुपमा सपथ लिनेहरुमा रमानाथ पौडेल, बलराम त्रिपाठी, प्रकाशकुमार अधिकारी, बाबुकाजी बानियाँ, कोमलप्रसाद आचार्य, देवकुमार गिरी, रमेश शर्मा पौडेल, राजेन्द्र नेपाल, तीर्थराज केसी, विनोदकुमार गौतम, धनीश्वर पौडेल, प्रकाशप्रसाद पण्डित, मदनबहादुर धामी, श्रीप्रसाद सञ्जेलगायत थिए ।
नेपालको अन्तरिम संविधान, २०६३ मा तीन वर्ष न्याय, कानुन तथा सरकारी वकिल सेवामा उपसचिव भएका कर्मचारी जिल्ला न्यायाधीशको लागि योग्य हुने व्यवस्था छ ।
न्यायपरिषद्को बैठकले न्याय सेवाबाट ३९, कानुन सेवाबाट नौ र सरकारी वकिलबाट १२ उपसचिवलाई जिल्ला न्यायाधीशको लागि सिफारिस गरेको थियो । रासस











