२७ साउन, काठमाडौं । संविधानसभाले संवाद समितिको संविधानको मस्यौदालाई परिमार्जन गरी विधेयकको रुप दिन मस्यौदा समितिमा पठाएको छ । प्रारम्भिक मस्यौदामा थप छलफल र प्रमुख दलबीच सहमति जुटाएर संवाद समितिले प्रदेशको सिमाकंन सहितको परिमार्जित मस्यौदाको प्रतिवेदन संविधानसभामा बुझाएको थियो ।

संवाद समितिको प्रतिवेदनमाथि संविधानसभामा दुई दिन भएको थियो । छलफलका क्रममा चार दलकै सभासद्ले समते प्रतिवेदनमाथि असन्तुष्टी जनाएका थिए । बढीमा ५ दिन भित्र मस्यौदालाई अन्तिम रुप दिई संविधान विधेयक बनाउन मस्यौदा समितिमा पठाउने निर्णय बुधबार बसेको संविधान सभा बैठकले गरेको हो । समितिले संवादले दिएको प्रतिवेदनको भाषा मिलाउने र केही थप घट गरी अन्तिम रुप दिनेछ । उक्त समितिका सभापति कांग्रेस नेता कृष्ण सिटौला हुन् ।
सिटौला नेतृत्वको समितिले यसअघि प्रारम्भिक मस्यौदा बनाएर संविधानसभामा पेस गरेको थियो । उक्त मस्यौदामा प्राप्त जनताको राय सुझावका आधारमा संवादले ६ प्रदेशको सिमांकन र अन्य आवश्यक परिमार्जन गरेको हो । प्रदेशको सिमाकंनप्रति असन्तुष्टि जनाउँदै मुलुकको विभिन्न भागमा आन्दोलन चर्केको छ ।
संवाद समितिले पेस गरेको प्रतिवेदनमाथि भएको छलफल राप्रपा नेपाल र ४ मधेसी दल सहितले बहिष्कार गरेका थिए ।











