२७ साउन, सुर्खेत । अखण्ड मध्यपश्चिमको माग गर्दै आज ५ औं दिन पनि सुर्खेत बन्द गरिएको छ । आन्दोलनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले आज पनि साँझ साढे ६ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।
कर्फ्यू लगाएको भएपनी प्रर्दशनकारीहरुले बिहानैदेखि एरिचोक, मंगलगढी चोक लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले कयौँ पटक अश्रुग्याँस र हवाइ फायरिङ्ग गरिरहेको छ । प्रहरीको दमन गरेको भन्दै प्रदर्शनकारीहरुले झन आन्दोलन चर्काइरहेका छन् । प्रहरीले भने आन्दोलन नियन्त्रण गर्ने प्रयास गरीरहेको छ ।

कर्फ्यूमा घरबाट बाहिर ननिस्कन वजारमा माईकिङ गरेर जानाकारी गराइएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए ।
यसैबीच सुर्खेतका विभिन्न राजनीतिक दल, क्षेत्रीय उद्योग वाणिज्य संघ सुर्खेतको आज बिहान बसेको संयुक्त बैठकले क्षेत्रीय उद्योग वाणीज्य संघको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको छ ।
बैठकले आन्दोलनका क्रममा प्रहरीको गोली लागि निधन भएकालाई सहीद घोषणा गर्नुपर्ने र उनीहरुका परीवारलाई १० लाख क्षतिपूर्ति दिइनुपर्ने, घाइते भएकाहरुको निःशुल्क उपचार गर्नुपर्ने, पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग सरकारसँग गर्ने निर्णय गरेको छ ।

मध्यपश्चिमका सबै जिल्लालाई टुक्राउन नहुने भन्दै आइतबारदेखि भएको प्रदर्शनमा सुर्खेतमा ३ जनाको ज्यान गएको थियो । उनीहरुको शव परिवारले अझै बुझ्न मानेका छैनन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
सीमांकनको विरोधमा दैलेख, सल्यान, रुकुम, जाजरकोट लगायतका जिल्लामा पनि प्रदर्शन कायमै छ । यस्तै जुम्लामा सरकारी र पार्टी कार्यालयमा तोडफोड भएकाले आज सुरक्षा व्यवस्था कडा पारिएको छ । कर्णालीमा भएका स्रोतलाई अधिक प्रयोग गर्नुपर्ने र यसको ग्यारेन्टी संविधान मै गर्नुपर्ने माग सहित कर्णालीवासी आन्दोलनमा उत्रिएका हुन् ।











