२६ साउन, काठमाडौं । प्रमुख चार दलका शीर्ष नेताहरुले जनतालाई संयम अपनाई सबै प्रकारका आन्दोलन रोक्न सामूहिक अपील गरेका गरेका छन् । आफूहरुले जनताका भावना एवं राष्ट्रको आवश्यकता एवं हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने प्रयत्न गरिने आश्वासन दिँदै उनीहरुले यस्तो अपील गरेका हुन् ।
संविधानसभा भबन नया वानेश्वरमा मंगलबार बसेको विशेष समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारको हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको हो ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले विज्ञप्ती पढेर सुनाउँदै आन्दोलन रोक्न र सीमाङ्कनमा उपयुक्त सुझाब दिन समेत आग्रह गरे । संयम धारण गर्न र सबै प्रकारका आन्दोलन रोकी उपयुक्त सुझावद्वारा सहयोग पुर्याई समस्या समाधानको प्रतीक्षा गर्न पनि चार दलका शिर्ष नेताले अपिल गरेका छन् ।
पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रचण्डले संविधान बाइबल, कुरान जस्तो धर्मशास्त्र नभई संशोधन गर्न सकिने बताउनुभयो । त्यसैगरी केपी ओलीले अहिलेको सीमाङ्कन आधारभूतमा सही रहेको तर जनताको भावनामा खेल्न खोज्नेहरुप्रति सचेत हुनुपर्ने बताउनुभयो । अखण्ड मध्यपश्चिमको माग राख्दै सुर्खेतमा भएको आन्दोलनका क्रममा हिजो तीन जनाको मृत्यु हुनुका साथै देशका विभिन्न भागमा सीमाङ्कनको विरोधमा आन्दोलन भइरहेको छ ।











