२६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रदेशको सीमांकनमा जनचाहनाअनुसार सामान्य हेरफेर गर्न सकिने बताएका छन् ।
पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले ६ प्रदेशको सीमांकन समस्याभन्दा समाधानको उपाय भएको भन्दै संविधानलाई अन्तिमरुप दिनेक्रममा जनताका जायज सुझावलाई समेट्न सकिने बताए ।

पार्टी संसदीय दलका नेतासमेत रहेका ओलीले पार्टीका नेता, कार्यकर्ता, सभासद, जनवर्गीय संगठनका सम्पूर्ण सदस्यहरुलाई संघीयताको सीमांकन र धार्मिक संवेदनशीलताविरुद्धका अभियानमा नलाग्न आग्रह गरे ।
आन्दोलनका नाममा अराजकता र विध्वंशकारी घटना हुनेतर्फ सचेत हुनुपर्ने भन्दै ओलीले संयमता र धैयर्ता नगुमाउन र शान्तिपूर्ण आन्दोलनका पक्षमा लाग्न अपील गरे ।
आन्दोलनमा ज्यान गुमाएकाहरुका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरे ।











