२६ साउन, दाङ / सिमाङ्कनको विरोध गर्दै विभिन्न जिल्लामा भैरहेको विरोध र आन्दोलन चलिरहेको वेला यता दाङको तुलसीपुरमा पनि अखण्ड राप्तीको माग गर्दै नागरिकहरुले तुलसीपुरमा प्रदर्शन गरेका छन् । छिमिकी जिल्ला सल्यानलाई प्रदेश नम्बर ६ मा राख्न नहुने र रुकुम जिल्लालाई विभाजन नगरी प्रदेश नम्बर ५ मै राख्नु पर्ने माग सहित तुलसीपुरमा विरोध प्रदर्शन गरिएको हो । नागरिक समाज दाङको अगुवाईमा गरिएको प्रदर्शनमा उद्योगी, व्यापारी , व्यवसायी , विद्यार्थी, कानून व्यवसायी, पत्रकार , राजनितिक दल सहित विभिन्न पेशामा आवद्ध लगायत सर्वसाधारणहरुको उल्लेख्य सहभागीता रहेको पत्रकार शरद रेग्मीले जनाएका छन् । सल्यान र रुकुमका जनताले थालेको आन्दोलनलाई समर्थन गर्दै तुलसीपुरमा मंगलवार प्रदर्शन गरिएको हो । नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीको अध्यक्षतामा भएको कोणसभामा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, तुलसीपुर क्षेत्र सरोकार मन्चका अध्यक्ष गोपिनाथ योगी , पश्चिम सरोकार मन्चका अध्यक्ष दिनेश डांगी , तरुण दलका जिल्ला अध्यक्ष टिका घर्ति , राप्ती बबई क्याम्पसका अध्यक्ष मान वहादुर डांगी, व्यवसायी विनोद शर्मा, पत्रकार नारायणी रजौरे , नेत्रलाल वली लगायतले कोण सभामा सम्वोधन गर्नु भएको थियो ।
सल्यान जिल्लालाई प्रदेश नम्बर ५ मा राख्नु पर्ने र रुकुमलाई विभाजन गर्न नहुने माग राख्दै सल्यान र रुकुम जिल्ला विगत ३ दिन देखि अनिश्चितकालिन वन्दको आयोजना गरिएको छ ।













