२५ साउन, काठमाडौं । अखण्ड मध्यपश्चिमको माग गर्दै सुरु भएको आन्दोलन अराजक वन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले दिउँसो १ बजेदेखि बेलुकी ९ बजेसम्म विरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनकारीले कर्फ्यु उल्लंघन गरेपछि प्रहरीले चलाएको गोलीले ३ जनाको मत्यु भएको छ भने ४ गम्भीर घाइते भएका छन् । मृतक टीकाराम गौतम र यमबहादुर बिसीको सनाखत भए पनि एक जनाको सनाखत हुन सकेको छैन ।
कर्फ्यु आदेशका वावजुद पनि विरेन्द्रनगरका विभिन्न ठाउँमा प्रदर्शन जारी छ । प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले प्रदर्शनकारीले सुर्खेतमा राजनीतिक दलका कार्यालय र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरेकाले स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाउनु परेको बताउनुभयो ।

नेपाली कांग्रेस, एमाले, एकीकृत नेकपवा माओवादी, मधेशी जनअधिकार फोरमलगायतका दलका कार्यालयमा तोडफोड गर्नुका साथै सामानहरु बाहिर निकालेर आगो लगाएका छन् ।
अखण्ड मध्यपश्चिमको माग राख्दै सुर्खेत बन्द आह्वान गरेका प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य, झुप्रा वृहत खानेपानी तथा सरसफाई कार्यालयमा पनि तोडफोड गरेका छन् ।
उनीहरुले पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खडकाको घरमा पुगेर ढुंगामुढा गर्नुको साथै आगजनी गरेका छन् । खड्काको घर सुरक्षाको लागि खटिएको जिल्ला प्रहरी कार्यालयको गाडीमा पनि आगजनी भएको छ । सुर्खेतका विभिन्न ठाउँमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिने प्रहरीले ३ सय राउण्ड भन्दा बढी हवाई फायर गरेको छ
।











