२४ साउन, काठमाडौं । शनिबार मध्यरातमा ६ प्रदेशबीचको सहमतिपत्रमा हस्ताक्षर गर्ने समयमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड निराश भए । उनले प्रदेशका सम्बन्धमा फरक मत राख्दै हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री सुशील कोइरालाले सहमतिपत्रमा हस्ताक्षर गर्ने समयमा प्रचण्ड निराश र शोचमग्न देखिन्छन् । हस्ताक्षर गरीसकेपछि खिचिएको सामूहिक तस्वीरमा लिने समयमा पनि प्रचण्ड खुशी हुन सकेनन् । फरक मतसहित हस्ताक्षर गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पनि सहमतिपछि खुशी देखिएका छ्रैनन् । सामूहित तस्वीरका समयमा पनि गच्छदार शिर झुकाएर उभिएका थिए ।
एमाले अध्यक्ष केपी ओली भने हस्ताक्षरको समयमा आफ्नै दलकी उपाध्यक्ष विद्या भण्डारीसँगको कुराकानीमा व्यस्त रहेका देखिन्छन् (हेर्नुहोस् तस्वीर) । प्रधानमन्त्री सुशील कोइरालाले हस्ताक्षर गर्न लागिरहेको समयमा बाबुराम भट्टराईले कोइरालालाई सहयोग गरिरहेका छन् भने प्रचण्ड र गच्छदार सोचमग्न र तनावको मुद्रामा देखिन्छन् । तर केपी ओली विद्या भण्डारीसँगको कुराकानीमा व्यस्त देखिन्छन् ।
हस्ताक्षरपछि सबैभन्दा खुशी डा. बाबुराम भट्टराई भएका छन् । संवाद समितिको सभापतिको हैसियतमा सहमति गर्न सफल भएकोमा उनी खुशी देखिन्छन् । प्रधानमन्त्री कोइराला पनि खुशी नै छन् तर भट्टराई जति खुशी देखिँदैनन् । सहमति हुनु उपलब्धि भए पनि त्यसपछि आउने च्यालेन्जले प्रधानमन्त्री कोइराला केही निराश भएको हुनुपर्छ । प्रधानमन्त्री पद छाड्नुपर्ला भन्ने डर भने उनमा नभएको हुनुपर्छ । किनकी उनी त्यागी नेता हुन् ।
यो तस्वीरमा एमाले अध्यक्ष केपी ओली भने अन्य नेताको मनस्थिति अध्ययन गर्नमा केन्द्रित रहेका देखिन्छन् । सबै नेता क्यामेरामा पोज दिएका बेला गच्छदार शिर निहुराउँछन् र केपी ओली अरुको मनस्थिति विचार गर्दैछन् । तस्वीर हेर्दा ओलीलाई अझै पनि सहमति भाँडिने त होइन भन्ने चिन्ता भएको अनुमान गर्न सकिन्छ ।











