२४ साउन, पर्वत । ड्युटी समयमा पर्वत सदरमुकाम कुश्माबजारमा घुमिरहेको नेपाल प्रहरीको टोली र सिभिल पोसाकमा रहेका सशस्त्रबीच झडप हुँदा चारजना घाइते भएका छन् । नेपालकै अग्लो कुश्माकैया झोलुंगे पुलनजिकै झडप भएको हो ।
शनिबार साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय पर्वतबाट ड्युटीमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल चण्डिका गणका सशस्त्रबीच विवाद भएको थियो । के विषयमा विवाद भएको भन्ने खुल्न सकेको छैन । तर, मदिरा सेवन भएकै कारण झडप भएको स्रोतले बताएको छ ।
घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार खगेन्द्रप्रसाद जोशी र तारा सुनार छन् । नेपाल प्रहरीका नमबहादुर गुरुङ र डोलराज थापा पनि घाइते छन् । विवाद उत्पन्न भएपछि ड्युटीमा रहेको नेपाल प्रहरीको समूहले सशस्त्र प्रहरीलाई बन्दुकको नालले हानेको जनाइएको छ ।













