२४ साउन, काठमाडौं । १६ बुँदे सहमतिका सहयात्री दलहरुले शनिबार मध्यरातमा अर्को सहमति गरेका छन् । चार दलबा शीर्ष नेताहरुले राति १२ बजे संघीयताका ६ प्रदेश बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
यसलार्इ राजनीतिक सहमति तथा सम्वाद समितिको बैठकले अनुमोदन गरेपछि आइतबार बस्ने संविधानभाको बैठकमा पेश गरिनेछ । ६ प्रदेशको सीमांकनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गर्न नमानेपछि उनलार्इ मनाउने प्रयास गर्दा रातको बाह्र बजेको थियो । सहमतिपत्रमा हस्ताक्षरपछि संवाद समितिका सभापति तथा विशेष समिति सदस्य डा. बाबुराम भट्राईले सार्वजनिक गरेको तस्वीरमा १२ बजेर २५ मिनेट गएको स्पष्ट देख्न सकिन्छ (हेर्नुहोस् तस्वीर) ।
शीर्ष नेता सम्मिलित विशेष समितिको बैठकमा सहभागी भएका गच्छदारलार्इ फोरम लोकतान्त्रिकका सभासदहरूले हस्ताक्षर नगर्न दबाव दिएका थिए । ६ प्रदेशको सहमतिमा हस्ताक्षर गरिए मृत्युपत्रमा हस्ताक्षर गरेको ठहरिने भन्दै आफ्नै पार्टीका सभासदले गच्छदारलार्इ दबाव दिएका थिए। अन्ततः केही फरक मत सहित गच्छदारले सहमतिमा हस्ताक्षर गरेका छन् ।
सीमांकनमा भएको सहमतिमा हस्ताक्षर गरिसकेपछि फोरम लोकतात्रिकका अध्यक्ष विजय गच्छदारले संविधान निर्माणमा बाधक नबन्ने भन्दै केही असहमतिसहित हस्ताक्षर गरेको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
सहमतिपछि प्रधानमन्त्री सुशील कोइरालाले उत्साही हुँदै अबको ८/१० वर्षमा मुलुकको कायापलट हुने दाबी गरेका गरे । सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले बैठकबाट निकास निस्किएको जानकारी दिए ।
सीमांकनमा नेताहरु सहमतिमा पुगे पनि धर्मनिरपेक्षता, थ्रेस होल्ड र संवैधानिक अदालतको विषयमा अझै विवाद बाँकी छ । यी विषयहरुमा समेत आइतबार सहमति हुने जनाइएको छ ।
राति अबेर बसेको सम्वाद समितिको बैठक सदस्यहरूले सहमतिपत्र अध्ययन गर्ने भन्दै आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सम्वाद समितको बैठकले सहमतिलार्इ पारित गरी तयार पारेको प्रतिवेदन आइतबार १ बजे बस्ने संविधानसभाको बैठकमा पेश गरिने बताइएको छ ।












