२३ साउन, काठमाडौं । संघीयतामा सिमांकन मिलाउन बसेका नेताहरुले नतिजा ल्याउन नसकेपछि सभासदहरु आक्रोसित भएका छन् ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभासदहरुले बैठक बोलाएर शीर्ष नेताहरु नआएको भन्दै घेराउ गरेका छन् । शीर्ष नेताको छलफल भइरहेको सिंहदरवारस्थित राज्य व्यवस्था समितिको बैठककक्षमा बसेका शीर्ष नेताहरुलाई घेराउ गर्दै सभासदहरुले नाराबाजी गरिरहेका छन् ।
मुख्य दलहरुबीच ६ प्रदेशमा मोटामोटी सहमति भए पनि थारु बहुल प्रदेशलाई अलग अलग बनाएको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार असन्तुष्ट छन् । उनले असन्तुष्टि जनाउँदै बाहिरिएपछि समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन ।
प्रमुख दलबीच भएको सहमतिलाई अनुमोदन गराउन संवाद समितिको बैठक दिउँसो १ बजे नै बोलाइएको थियो । तर, सहमति हुन ढिला भएपछि समिति बैठक नै अनिश्चित भएको छ ।
समिति बैठक अनिश्चित भएकै कारण संविधानसभा बैठक आइतबार दिउँसो १ बजेका लागि सारिएको संविधानसभा सचिवालयले जनाएको छ ।











