२३ साउन, काठमाडौं । १६ बुँदे सहमति गरेर आफैँले सहमतिको उल्लंघन गरेर किचलो झिकेका चार दलमध्ये प्रमुख तीन दल सहमतिमा पुगेका छन् । राजनीतिक दलहरुले सीमांकनसहितको ६ प्रदेशमा सहमति गरेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार भने विदेशी शक्तिकेन्द्रको दवावका कारण भड्किएका छन् । उनलाई मनाउने प्रयास जारी छ ।
दलहरुले गरेको ६ प्रदेशको सीमांकनमा बाग्लुङ र नवलपरासी जिल्ला टुक्रिएको छ । प्रदेशहरुको नाम राखिएको छैन । प्रदेशको नामांकन प्रदेश सभाले नै राख्नेछ ।
एमाओवादीले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरबारे फरक मत राखेको छ ।
सप्तरीलाई पूर्वी प्रदेशमा राख्नु पर्ने माग गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गर्न मानेका छैनन् । उनलाई मनाउने प्रयास जारी छ ।
दलहरुबीच भएको सहमति अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ र ओखलढुंगाको एउटा प्रदेश बन्नेछ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको अर्को प्रदेश हुनेछ । गच्छदारले सप्तरीलाई पूर्वमा बन्ने प्रदेशमा राख्नु अर्ने अडान लिएका छन् ।
मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, दोलखा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङलाई मिलाएर तेस्रो प्रदेश बन्नेछ ।
गोरखा, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ ९पूर्वी भाग० मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, पर्वत, नवलपरासी (दाउन्नेदेखि पूर्वकोको चौथो प्रदेश बन्नेछ ।
यस्तै कपिलवस्तु, रुपन्देही, नवलपरासीको पश्चिमी भाग, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ , पश्चिम भाग, दाङ, प्युठान, सल्यान, रुकुम, रोल्पा, बाँके, बर्दियाको अर्को प्रदेश बन्नेछ ।
छैटौं प्रदेशमा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट सुर्खेत, दैलेख, जाजरकोट रहने भएका छन् ।शीर्ष तहमा सहमति भएकोलाई सम्वाद समितिको बैठकमा लैजाने तयारी भइरहेको छ ।
नेताहरुका अनुसार धर्म, नागरिकता र संवैधानिक अदालतबारे दलहरुबीच सहमति हुन बाँकी नै छ ।
सम्वाद समितिलाई कायम राख्ने र मिल्न बाँकी विषयमा छलफल गर्दै जाने दलहरुको तयारी रहेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।
हेर्नुहोस् दलहरुले बनाएको प्रदेश विभाजनसम्बन्धि संविधानको अनुसूची :












