पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द नयाँ संविधानमा प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने पक्षमा उभिएका छन् । चार राजनीतिक दलहरु नयाँ संविधानमा सहमति जुटाउन कसरत गरिरहेका बेला विहीबार नेपाल देश डट कमसँग कुराकानी गर्दै चन्दले स्थिरताका लागि प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्ने विचार व्यक्त गरे ।
दुई कार्यकाल अविश्वासको प्रस्ताव ल्याउन नपाइने भन्दा र प्रत्यक्ष निर्वाचित कार्यकारी राख्नु असल हुने उनले बताए । संसदबाट मन्त्रीको चयन गर्ने गरी प्रत्यक्ष कार्यकारीको व्यवस्था गरे जनता र अन्तर्राष्ट्रिय शक्तिको विश्वास आर्जन हुने उनको धारणा छ ।
‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव नआएर के गर्नु दुई वर्षमा त आइ नै हाल्छ । त्यस्तो प्रधानमन्त्रीले पनि राम्ररी काम गर्न सक्दैन । संसदबाट निर्वाचित प्रधानमन्त्रीको कुनै सम्मान छैन ।’ उनले प्रष्ट पारे ।
आफू पनि प्रधानमन्त्री भएको तर आफ्नो कुनै मूल्य नभएको गुनासो उनले पोखे – ‘म पनि यो देशको प्रधानमन्त्री बनेँ तर नेपालको प्रधानमन्त्रीको कुनै इज्जत छैन । आज आउने प्रधानमन्त्री भोलि नै त जाने हो नि भनेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सम्मानको दृष्टिले नहेर्ने गरिएको अनुभूति उनले सुनाए । उनले थपे कर्मचारी र सर्वसाधारणले त झन हेप्ने नै भए । अनि त्यस्तो प्रधानमन्त्रीले विकासका लागि के गर्न सक्छ ?’
कांग्रेसीसँग बुद्धि छैन एमालेहरुले बुझ पचाउँछन्
प्रत्यक्ष कार्यकारीमा दलहरु किन जान नचाहेका होलान् त त्यसो भए उनले जवाफ फर्काउँदै भने – ‘कांग्रेसीहरुसँग बुद्धि छैन, एमाले नेताहरुले बुझ पचाउँछन् । अब एकपल्ट बोलिहालियो भनेर मात्रै संसदबाट कार्यकारी छान्ने अडान कांग्रेसले लिइरहेको छ । तर, एमाले नेताहरुले यो कुरा बुझेका छन् तर बुझ पचाएरै कांग्रेसको पछि लागिरहेका छन् ।’
संविधान त ल्याउलान भारतको रुचि बुझ्न सकिएन
नयाँ संविधान ल्याउने तयारी छ आउँछ जस्तो लाग्छ कि लाग्दैन भन्ने प्रश्नमा ७९ वर्षीय पूर्वप्रधानमन्त्री चन्दले भने -‘चार दलले नयाँ संविधान ल्याउने जस्तो छ त देखिन्छ तर द्वन्द्वको अन्त्य हुनेजस्तो देखिन्न । उनीहरुलाई हिजो बाँडेका नारा नै अहिले घाँडो भएको छ । कुनै पनि विवाद रोप्न सजिलो छ समाधान गर्न सहज छैन । अहिले त्यस्तै भएको छ हिजो विऊ रोप्ने दलहरुलाई । अहिले सबै क्षेत्रका मानिसले आफूले चाहेजस्तै हुन्छ भनेका छन् तर भोलि त्यो नहुँदा समस्या निम्तिने छ ।’
संविधानको प्रारम्भिक मस्यौदासँगै नेताहरुको दिल्ली दौडाहा किन भएको हो भन्ने प्रश्नको जवाफ दिंदै उनले यो कुरा आफूले बुझ्न गाह्रो भएको बताए । उनले थपे – ‘मधेसी दललाई पनि मिलाएर लैजाउ है भन्न त एसएमएसबाट नै पनि भन्न सकिन्छ नि । एकपछि अर्को नेता किन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उहीँ पुग्नुपर्ने ? यो एउटा रहस्यको विषय बनेको छ । ‘
भारत नै कसले चलाएको छ त्यहीँको प्रधानमन्त्रीलाई थाहा हुँदैन
तर नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि त नेपालप्रतिको भारतको दृष्टिकोण बदलिने विश्लेषण भएको थियो । सुरुका दिनमा त्यस्तो अनुभूति पनि गरिएको थियो । के त्यस्तो नभएको हो ?
चन्दले जवाफ दिए – ‘दिग्गज नेता अटलविहारी बाजपेयी भारतको प्रधानमन्त्री रहँदा गैरआवासीय भारतीयहरु नेपाल आएका थिए । उनीहरुको टोलीले मसँग भेट गर्यो । कुराकानीकै क्रममा उनीहरुले तत्कालीन प्रधानमन्त्री बाजपेयीले भनेको कुरा उल्लेख गर्दै मलाई सुनाए सुन्दा अचम्म लाग्यो । एनआरआइ टोलीसँगको भेटमा अडवाणीले भनेको थिए रे – ‘ये देश कौन चलारहा हे मुझे भी पता नहीँ हे ।’
हामी ठान्छौं भारत जस्तो लोकतान्त्रिक देश निर्वाचित प्रधानमन्त्रीले चलाएका होलान् भन्ने । तर, त्यो देश नै कस्ले चलाएको छ भन्ने कुरा आडवाणीजस्तो अनुभवी नेताले बुझ्न सकेनन् भने मोदीले कसरी बुझ्न सके होलान् ?











