२१ साउन, काठमाडौं । न्याय सेवामा कार्यरत ६० जना अधिकृतलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्ले सिफारिस गरेको छ । परिषद्को आजको बैठकले न्यायाधीशका लागि नाम सिफारिस गरेको हो । न्याय सेवामा कार्यरत वरिष्ठ अधिकृतलाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिनुभयो । नयाँ न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका अधिकृतहरुमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता रमानाथ पौडेल, पुनरावेदन सरकारी वकिल कार्यालय पोखराका सरकारी वकिल बलराम त्रिपाठी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रकाशकुमार अधिकारी, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका कानून अधिकृत बाबुकाजी बानियाँ, मन्त्रालयका कानुन अधिकृत कोमलप्रसाद आचार्य, राजेन्द्र नेपाल, तीर्थराज केसी, पुनरावेदन सरकारी वकिल कार्यालय सुर्खेतका उपन्यायाधिवक्ता देवकुमार गिरी, पुनरावेदन सरकारी वकिल कार्यालय दिपायलका उपन्यायाधिवक्ता रमेश शर्मा पौडेल रहनु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विनोदकुमार गौतम, विशेष सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता धनीश्वर पौडेल, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका कानून अधिकृत प्रकाशप्रसाद पण्डित, महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता मदनबहादुर धामी, काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार श्रीप्रसाद सञ्जेल, प्रशासकीय अदालतका उपरजिष्ट्रार रमेशकान्त अधिकारी, राजस्व न्यायाधीकरण काठमाडौँका स्रेस्तेदार महेन्द्रप्रसाद पोखरेल, पुनरावेदन अदालत जनकपुरका उपरजिष्ट्रार किशोर घिमिरे, सर्वोच्च अदालतका उपरजिष्ट्रार भीष्मराज प्रसाईं लगायतका सिफारिसमा पर्नु भएको छ ।











