विनाशकारी भूूकम्पपछि पहिरोले अवरुद्ध बनेको नेपाल–चीन तातोपानी नाका द्विपक्षीय पहलबाट खुलेको छ । नेपाली सेनाको सहयोगमा चीनको सशस्त्र प्रहरीले पहिरो हटाई बाटो खुलाएको हो । चिनियाँ टोलीले ५ दिनमै नाका खुलाएको हो । छोटो समयमै मितेरी पुलमाथि बेलिब्रिज हाल्नेदेखि सडक खुलाउनेसम्मको काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

वैशाख १२ को भूकम्पले उक्त नाका बन्द भएर कोदारी राजमार्गमार्फत नेपाल–चीन स्थल यातायात सम्पर्क विच्छेद भएको थियो । चीन सरकारले बाटो पन्छाएर राहत ल्याए पनि सर्वसाधारण र व्यापारिक प्रयोजनका लागि खुला हुन सकेको थिएन । बाटो खुलाउन दैनिक सयभन्दा बढी चिनियाँ प्रहरी हरेक दिन आउँदैजाँदै काम गरेका थिए ।

चिनियाँ विशेषज्ञ टोली काम सकेर आज फर्किएको छ । चीनले नेपालको पुनर्निर्माणमा तत्काल काम गर्न सवा अर्ब रुपैयाँ उपलब्ध गराएलगत्तै बाटो खुलाउने काम सुरु भएको हो । अन्य क्षेत्रमा काम गर्न चीनले परियोजना अध्ययन गर्ने भनेको छ । चीनले भूकम्पपछिको पुनर्निर्माण निम्ति ७६ अर्ब रुपैयाँ अनुदान दिने अन्तर्राष्ट्रिय दाता सम्मेलनमार्फत घोषणा गरेको थियो ।











