सरकारले मुख्यसचिवमा डा. सोमलाल सुवेदीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बुधबार सिंहदरबारमा बसेको बैठकले संघीय मामिला मन्त्रालयका सचिव डा. सुवेदीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लीलामणि पौडेलले यही श्रावण २२ गतेदेखि तीन वर्षे कार्यकाल सकेर बिदाइ हुने भएपछि सरकारले नयाँ मुख्यसचिव चयन गरेको हो ।
तीन दशकभन्दा लामो समयदेखि निजामति सेवामा रहेका सुवेदी स्थानीय विकास विज्ञ पनि हुन् । सहलेखापालबाट २०३८ सालमा सरकारी सरकारी सेवामा प्रवेश गरेका सुवेदी आर्थिक मामिलामा विवादमा परेका छैनन् ।
सुवेदीले २०४६ सालमा शाखा अधिकृतमा नाम निकाल्दा योग्यताक्रमका आधारमा अर्थ मन्त्रालयमा परेका थिए । खुला प्रतिस्पर्धाबाट २०५३ सालमा उपसचिव भएका सुवेदी २०५९ सालमा सहसचिव र २०६७ साल चैत्र ३० गते सचिवमा बढुवा भएका थिए । उनले अधिकांश समय स्थानीय विकास मन्त्रालयमा बिताएका थिए ।

सचिवहरुको वरीयताक्रममा एक नम्बरमा रहेका श्रीधर गौतमको कार्यकाल एक वर्ष पनि बाँकी नरहेकाले प्रधानमन्त्री सुशील कोइरालाले सुवेदीलाई रोजेको बताइएको छ ।
वरियताक्रममा तीन नम्बरमा रहेका उद्योगसचिव जयमुकुन्द खनाल पनि प्रतिस्पर्धामा थिए । तर, गौतम र खनालको चुनौती पन्छाउँदै डा. सुवेदी मुख्यसचिव बन्न सफल भएका हुन् । सरकारले मुख्यसचिव नियुक्त गरे पनि अझै विभिन्न ६ ओटा मन्त्रालय तथा प्रशासनिक निकायमा सचिव पद रिक्त छन् ।











