१८ साउन, काठमाडौं । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक अनिश्चितकालका लागि स्थगित भए पनि सोहीले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक भने सोमबार पनि बस्यो। नेताहरुले साउन महिनाभित्र संविधान ल्याउने गरी सकारात्मक र गम्भीर छलफल भएको बताएका छन्। विशेष समितिको बैठकले संविधान निर्माण प्रक्रिया नरोकिने आशा पलाएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘संविधान नबन्ने भयो’ भन्ने जस्ता हल्लाको पछि नलाग्न आग्रह गर्दै सकेसम्म आजै र ढिलोमा भोलि मंगलबार साँझसम्ममा संविधानसभामा प्रतिवेदन पठाउने गरी छलफल भइरहेको बताए।
“औपचारिक र अनौपचारिक स्तरमा सकारात्मक छलफल भइरहेको छ, सीमाङ्कनसहित टुङ्ग्याउनेतिरै हामी लागेका छौं। आठ वर्षदेखि छलफल हुँदै आएको विषय टुङ्गोमा पुर्याउन एकरदुई दिन लाग्यो भन्दैमा जनतामा नकारात्मक सन्देश र भ्रम फैलाउनु हुँदैन।”
अध्यक्ष दाहालले मिल्नसक्ने विषयलाई कार्यदलको सहयोगमा मस्यौदामा समावेश गर्दै र नमिलेका विषयलाई छलफल गर्दै गइएको उल्लेख गरे।
समितिका सभापति डा बाबुराम भट्टराईले कुरा बिग्रियो भन्ने ढङ्गका समाचार आएको भन्दै सञ्चारमाध्यमप्रति गुनासो गरे। लाखौँ जनताले दिएका सुझावलाई मस्यौदामा कसरी प्रवेश गरी परिमार्जन गर्ने भनेर शीर्ष नेतासहित कार्यदलस्तरमा गृहकार्य भइरहेको उनले बताए।
“साउन मसान्तभित्र प्रदेशको सीमाङ्कनसहितका विषय टुङ्गोमा पुर्याई संविधान ल्याउन लागिरहेका छौँ, यही सन्देश प्रवाह गर्न म आग्रह गर्दछु” उनले भने।
नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले पनि छलफल सकारात्मक भएको र चाँडो संविधानसभामा प्रतिवेदन पठाउने गरी गृहकार्य भइरहेको जानकारी दिए।
संविधानको पहिलो मस्यौदामा जनताले दिएका राय सुझाव समेटी आइतबारसम्म प्रतिवेदन बुझाउने जिम्मा विशेष समितिले पाएको थियो। समितिको दोस्रो बैठक सोमबार नै बस्नेछ।











