१६ बुँदे सहमति गरेका दलहरुमाथि भारतीय दवाव परेपछि संविधानका सभाको राजनीतिक संवाद समितिमै मस्यौदा अड्किएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवामार्फत दुवै दललाई भारतले दवाव दिएपछि दवै दल १६ बुँदे सहमतिबाट पछि हटेका छन् ।
संवाद समितिका सभापति डा. बाबुराम भट्टराई र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाइृ फोनबाट भारतीय दवाव आएपछि मस्यौदा परिमार्जनको काम रोकिएको हो । नेपालस्थित भारतीय जासुसहरुले असन्तुष्ट मधेसी दललाई समेत सँगै लिएर जान दवाव दिनुका साथै गच्छदारलाई चेतावनी नै दिएपछि गच्छदारले आइतबार संवाद समितिमा ेनामाङ्कन–सिमाङ्कनको कुरा झिके । कांग्रेससहितका दल समेत नामांकन र सिमांकन उभिएपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
कांग्रेससहित एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले नामाङ्कन–सिमाङ्कन पनि टुंग्याएरमात्रै संविधान जारी गर्नुपर्ने पक्षमा उभिएपछि बैठक अघि बढ्न सकेन । ‘नामाङ्कन–सिमाङ्कनसहितका कतिपय विषय संविधानसभाबाटै टुंग्याउनुपर्ने भयो,’ बैठक अनिश्चितकालका लागि स्थगित गर्दै सभापति बाबुराम भट्टराईले भने ।
१६ बुँदे सहमतिविपरीत नामाङ्कन–सिमाङ्कनको मुद्धा उठेपछि एमालेसहितका केही साना दलले असन्तुष्टि जनाए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेताहरुको दिल्ली दौडाहाले परिस्थिति बिग्रेको बताए । ‘दिल्लीबाट फर्केपछि नेताहरुले मुख फेर्छन् त भनेकै थिएँ नि,’ उनले भने, ‘नभन्दै आज त्यस्तै भयो ।’
एमाले नेता केशव बडालले नेपालको मौलिक समझदारीमा नेताहरु अडिन नसकेको भन्दै असन्तुष्टि जनाए । ‘१६ बुँदे सहमतिलाई हामीले मौलिक भनेका थियौं,’ उनले भने, ‘तर, फेरि आज आएर कसको प्रभाव परेको हो बुझिनसक्नु भयो ।’
एमालेले नामाङ्कन–सिमाङ्कनको विषयलाई साथ दिएर कांग्रेसले सत्ता लम्ब्याउन खोजेको आरोप लगाएको छ । ‘तत्काल मिल्ने विषय होइन भनेर १६ बुँदे समझदारीमा नामाङ्कन–सिमाङ्कनलाई एउटा निकास दिइएको थियो,’ एक एमाले केन्द्रीय सदस्यले भने, ‘संविधान निर्माण अनिश्चित हुने भयो ।’
एमाओवादी र फोरम लोकतान्त्रिक पहाडलाई छुट्ट्याएर संघीयता ल्याउने पक्षमा रहेकाले सिमाङ्कन तत्काल मिल्ने अवस्था नरहेको ती नेताले बताए । ‘कांग्रेस–एमाले उत्तरदक्षिण छाड्दैनन्, एमाओवादी, मधेसी मान्दैनन्,’ उनले भने, ‘राजनीतिक तहमा मिल्ने विषय होइन ।’











