गोकुल बानियाँ
१६ साउन, पोखरा । कास्कीको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । शनिवार बेपत्ता भएका थप एक जनाको शब फेला परेको छ । कास्कीको भदौरेतामागीमा दिउसो एक बजे सात बर्षिय समिर पराजुलीको शब फेला परेको प्रहरीले जनाएको छ ।
यो संगै भदौरेतामागीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । सो स्थानमा बुधवार रातिको भिषण बर्षासँगै आएको पहिरोले घर पुर्दा ज्यान गुमाएका पाँ जनाको शब बिहिवार निकालिएको थियो ।
भदौरेतामागीमा पहिरोमा पुरिएर अझै तीन जना बेपत्ता छन् । बेपत्ता ५ बर्षिय विश्व पराजुली, १० बर्षिय मन बहादुर सुनार र १० महिनाका वालक किस्मत सुनारको पनि खोजी भैरहेको प्रहरी नायब उपरिक्षक केदार रजौरेले जानकारी दिए ।
लुम्ले गाविसमा पनि अझै एक जना वालिकाको अबस्था अज्ञात छ । पहिरोमा पुरिएर बेपत्ता लुम्ले ६ की पाँच बर्षिय कबिता शेर्पाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर लुम्लेमा २७, भदौरेतामागीमा ६ र ढिकुरपोखरीमा दुई जनाको ज्यान गैसकेको छ ।
बेपत्ताको खोजीको लागि तीन वटै सुरक्षा निकायबाट सय भन्दा बढी सुरक्षाकर्मी, डोजर र एक्साभेटर प्रयोग गरिएको छ ।
पहिरोमा परेर घाईते भएका १८ मध्य सात जनाको अबस्था गम्भिर छ । उनिहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।











