नेपाल देश टिप्पणी
१६ साउन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको भारत भ्रमणले नेपाल र नेपालीको स्वाभिमानलाई मानमर्दन गरेको प्रष्ट भएको छ । संविधानको मस्यौदा तयार पारिएपछि लगातार भएको दुई पूर्वप्रधानमन्त्रीको भारत भ्रमण देशको लागि नभई व्यक्तिगत स्वार्थकेन्द्रित भएको उनीहरुको संवाद र व्यवहारले देखाएको प्रष्ट हुन्छ । नेपालको भूमि लिपुलेक नेपालको होइन भनी गैरजिम्मेवार अभिव्यक्ति दिने एसडी मुनिलाई न त प्रचण्डले जवाफ फर्काए न त प्रधानमन्त्री कोइरालाका दूत बनेर गएको देउवाले नै केही बोले । उल्टै एसडी मुनिले त भारतको विरोध नगर्नेको सूची सार्वजनिक गरे देउवाले भाषण गरेको कार्यक्रममा ।
लिपुलेक खोसिएको विषयमा देशका दुवै पूर्वप्रधानमन्त्रीले भारतका प्रधानमन्त्री मोदीसँग चुइक्क पनि नबोल्नु राष्ट्रघातको अनुपम नमुना मान्न सकिन्छ । बरु उनीहरुको बडी ल्याङ्ग्वेजले उनीहरुमा दास मानसिकता प्रष्टै देखाउँछ । उनीहरु दुवैले विदेश मन्त्री शुष्मा स्वराजसँग भेट्दाको दास प्रवृत्ति हेर्दा उनीहरु नेपालको राजनीतिमा आफ्नो व्यक्तिगत स्थान खोज्न भारत गएका हुन् भन्ने प्रष्टिन्छ ।
प्रचण्डले शुष्मा स्वराजसँगको भेटमा शिर झुकाएर नमस्कार गरेका थिए । उनको यो लाचारी नमस्कारलाई सम्धी सम्धीनीको जस्तो ढोगभेट भन्दै सामाजिक संजालहरुमा टिप्पणी भयो । नेपालका पूर्व प्रधानमन्त्रीले भारतका विदेशमन्त्रीसँग शिर झुकाउनु राष्ट्रियताका लागि त्यो भन्दा लज्जास्पद कुरा केही हुन सक्दैन । त्यसमा पनि राष्ट्रिय स्वाभिमानको कुरा गर्दै विदेशी प्रभुको विरोध गर्दै ६ दिन आमहडताल गर्ने प्रचण्डको यो अवस्थाले उनमा देशभन्दा व्यक्तिगत महत्वकांक्षा मात्र हावी भएको विश्लेषण गरिएको छ । किनभने उनले राष्ट्रिय स्वाभिमानको आन्दोलन प्रधानमन्त्रीको पदबाट हट्नुपरेका कारण नै गरेका थिए । अहिले आफ्नो शाख जोगाइदिन निहुरमुन्टे नमस्कार गर्न भारत पुगे ।
शेरबहादुर देउवाले शुष्मा स्वराजसँगको भेटमा यस्तो चाप्लुसीको बडी ल्याङ्ग्वेज देखाएका छन् कि उनी भएभरको बल लगाएर शुष्मा स्वराजको चाकडी गर्न चाहन्छन् । स्वराजसँगको भेटमा देउवाले आफ्ना दुवै हात मोलेको तस्वीर सार्वजनिक भएको छ । नेपाली शैलीमा यस्तो हात मोल्ने प्रवृत्तिलाई तेल लगाउने प्रवृत्ति र सामन्ती प्रवृत्ति पनि भनेको पाइन्छ । देउवाले पनि आफ्नो राजनीतिक स्थानमा सहयोगको याचना गर्दै दिल्ली पुगेको यसबाट प्रष्ट हुन्छ ।
दुवै पूर्वप्रधानमन्त्रीले राजनीतिक भेटवार्तामा नेपालकातर्फबाट आआफ्ना पत्नीबाहेक अरुलाई राखेनन् । कुटनीतिक मामिलामा यस्तो भेटलाई राष्ट्रघातकै नमुना मानिन्छ । प्रचण्डले त भारतमा रहेका नेपाली राजदुतलाई आफूसँग राखेनन् राखेनन् आफ्नै दलका नेता दीपकुमारलाई देउवाले समेत विश्वास गरेनन् । आफ्नै पत्नीलाई लिएर भारतीय प्रधानमन्त्री मोदीसँग खुसुक्क कुरा गरे देउवाले । मोदीसँगको भेटको तस्वीरमा भारतीय अधिकारीहरु मोदीसँगै छन् तर देउवासँग उनकी पत्नी मात्र देखिन्छिन् ।
यो निर्लज्ज राष्ट्रघाटको नमुना हो । यस्ता निर्लज्जलाई जनताले बहिष्कार गर्ने डरले प्रत्यक्ष कार्यकारी प्रमुख राख्नै चाहँदैनन् यिनीहरु । एमाओवादीले समेत प्रत्यक्ष कार्यकारी प्रमुख छाड्दै जानुको भित्री कारण यही देखिन्छ ।











