१५ साउन, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान निर्माणमा सबै पक्षलाई समेटेर संविधान बनाउन सुझाव दिएका छन् ।
शुक्रबार अपरान्ह दिल्लीमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवासँग भएको भेटवार्ताका क्रममा मोदीले सो सुझाव दिएका हुन् ।
सबैलाई समेटेर बनाएको संविधानले समावेशी, स्थिर र समृद्ध नेपालको निर्माणमा सघाउ पुग्ने धारणा पूर्व प्रम देउवासँग मोदीले राखेका हुन् । भेटका अवसरमा देउवाले नेपालमा छिटै संविधान जारी हुन लागेको बताउँदै संविधानपछि सुरु हुने विकासको यात्रामा भारतबाट महत्वपूर्ण सहयोग हुने अपेक्षा व्यक्त गरेका थिए। उनले असन्तुष्ट रहेका दल तथा पक्षहरुलाई पनि समेटेर सहमति संविधान बनाउने कोसिस भइरहेको जानकारी दिए। मोदीसँगको भेटमा देउवापत्नी आरजु सहभागी थिइन् ।
भारत भ्रमणमा रहेका देउवाले शुक्रबारै दिउँसो भारतीय राष्ट्रपति प्रणव मुखर्जी तथा बिहीबार विदेशमन्त्री सुष्मा स्वराज पनि भेटवार्ता गरेका थिए ।











