१५ साउन, काठमाडौं । रक्सीले मात्तिएर महिलाहरुमाथि अश्लिल व्यवहार गर्दा मन्त्रीपद गुमाउन पुगेका कृषिमन्त्री हरि पराजुलीले छाया मन्त्रीका रुपमा काम गर्न थालेका छन् । उनको मन्त्री पद खुस्किए पनि कमिसनको सेटिङ मिलाउन उनको मन्त्रालय उनकै साढु दाइ वामदेव गौतमले लिएका थिए । एमालेभित्र कृषि मन्त्री छलफल गरेर मात्र पठाउनुपर्ने आवाज उठेपछि वामदेवले मन्त्रालय लिएर साढुभाइ पराजुलीले छाया मन्त्रीका रुपमा काम गरेका हुन् ।
पराजुली अहिले वामदेवको पीएजस्तै भएर कृषि मन्त्रालयको काम गर्दै आएका छन् । उनले बामदेवको मन्त्री निवासमा बसेर म नै मन्त्री हुँ भन्दै मन्त्रालयको सम्पूर्ण कार्य गर्दै आएको कृषि मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । पराजुलीले आफू मन्त्री हुँदा प्रयोग गरेको गाडी समेत मन्त्रालयमा नबुझाई आफै प्रयोग गर्दै आएका छन् । यति मात्र होइन उनकी श्रीमती, साली र छोराले समेत सरकारी गाडी चढ्ने गरेको मन्त्रालय स्रोतले जनाएको छ । पराजुली आफ्नो मन्त्री पद गुमेपछि मिडिया र पत्रकारलाई सराप्दै हिंडेका छन् भने आफूले प्रयोग गर्ने गरेको मोबाइल नम्बर परिवर्तन गरेका छन् ।
पराजुली एमाले कांग्रेस गठबन्धन सरकारमा सबैभन्दा भष्टचारी मन्त्रीको रुपमा चिनिन्छन् । किसानको कोटामा आफ्नो छोरालाई इजरायल पठाएको एमाले वृतभित्र पनि निकै आलोचनाको विषय बनेको थियो । उनले विभिन्न व्यक्तिहरुलाई आफ्नो पीए नियुक्त गर्ने र मोटो रकम लिएर विदेश पठाउने गरेको स्रोतले बताएको छ । उनका पीएहरु एकजना अमेरिका, एकजना अष्टे«लिया र एक जना श्रीलंकामा रहेको गोप्य जानकारी समेत हामीलाई प्राप्त भएको छ ।












