१५ साउन, काठमाडौं । सभामुख सुवासचन्द्र नेम्वाङले अविरल वर्षाका कारण बाढी पहिरोमा परी जनधनको ठूलो क्षति भइरहेका बेला सरकारलाई तत्काल संसदलाई जानकारी गराउन निर्देशन दिनुभएको छ । गण्डकी र धौलागिरी क्षेत्रका सभासदहरुले व्यवस्थापिका संसदको आजको बैठकमा बाढी पहिरोबाट ठूलो क्षति भएकाले सरकारसँग राहत तथा उद्धारको माग गरेपछि सभामुखले यस्तो रुलिङ गर्नुभएको हो । सभामुख नेम्वाङले बाढी पहिरोबाट जनधनको ठूलो क्षति भएको सम्बन्धमा सरकार अहिले के गरिरहेको छ ? भनेर प्रश्न गर्नुभएको थियो । नेम्वाङले राहत तथा उद्धारमा भईरहेको उपलब्धिको विषयमा संसदको अर्को बैठकमा सम्पूर्ण विवरण संसदलाई उपलव्ध गराउन रुलिङ गर्नुभयो । यसअघि कास्की क्षेत्र नम्बर ४ की सभासद सीता गिरी, पर्वतकी कल्पना शर्मा, बाग्लुङकी केशरी घर्ती मगर, कास्कीकै कुमार खड्का लगायतका सभासदले पहिरो पीडितको उद्धार तथा पुनस्र्थापना हुन नसकेको र अवरुद्ध सडक सञ्चालन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।











