१५ साउन, काठमाडौं । २० दिनपहिले हत्या भयो भनी तस्वीर समेत सार्वजनिक भएका युनिटी लाइफ इन्टरनेशनलका संचालक पक्राउ परेका छन् । सर्वसाधारणको अर्बौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्री र कृष्ण क्षेत्रीलाई पक्राउ पक्राउ गरेको हो । दाइ कृष्णले २० दिन पहिले आफ्नो भाइको ललितपुरमा हत्या भएको भन्दै तस्वीर समेत फेसबुकमार्फत सार्वजनिक गरेका थिए । उनले तस्वीर सार्वजनिक गर्नुका साथै आफूनिकट अनलाइनमा समाचार समेत लेख्न लगाएका थिए । उनी निकट अनलाइनले उनका भाइ विष्णुको हत्या भएको एकपक्षीय समाचार प्रकाशित गरेका थिए । यस्तो गलत समाचार फैलाउने कृष्ण र उनले मरेको भनी घोषणा गरेका विष्णु दुवैलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षत्री दाजुभाइलाई नेपाल भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको हो । क्षेत्री दाजुभाइ भारतमा लुक्दै आएका थिए । गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्स लगायतका आर्थिक गतिविधि सञ्चालन गरी सर्वसाधारणको अर्बौं रुपैयाँठगेको आरोपमा सरकारले चार वर्ष अघि युनिटी विरुद्ध कारबाही शुरु गरेको थियो । ठगी प्रकरणमा युनिटीका अध्यक्ष काशी गुरुङ यसअघि नै पक्राउ परिसकेका छन् ।











