गोकुल बानियाँ
१५ साउन, पोखरा । बुधवार रातिको पहिरोमा परी कास्कीमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । लुम्ले ६ को एउटै वडामा मृतकको संख्या २४ पुगेको छ ।
शुक्रबार प्रहरीले पहिरोबाट थप चार शव निकालेको थियो ।
पहिरोमा परेर भदौरेतामागी ५ का ५ बर्षीय विश्व पराजुली, ७ बर्षिय समिर पराजुली, १० बर्षिय मन बहादुर सुनार र १० महिनाका वालक किस्मत सुनार अझै बेपत्ता छन् । उनिहरुको खोजीको लागि शुक्रवार बिहानैदेखि सुरक्षाकर्मी तैनाथ छन् ।
लुम्लेमा तीन वटा सुरक्षा निकायका एक सय भन्दा बढी सुरक्षाकर्मी र पाँच वटा डोजर एक्साभेटर खटिएको र भदौरेमा पनि एउटा एक्साभेटर सहित ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले जानकारी दिए ।
लुम्ले, भदौरेतामागी र ढिकुरपोखरी गरी तीन गाविसमा अहिलेसम्म ३४ जनाको शब निकालिएको हो । सबै शब घटनास्थलमै पोष्टमार्टमपछि आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।











