१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशन पर सर्ने सम्भावना देखिएका छ । असोज २ गते १३ औं महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहे पनि महाधिवेशन तयारीको काम हुन सकेको छैन । । आन्तरिक तयारी सुस्त रहेका कारण महाधिवेशन पर सर्ने सम्भावना देखिएको पार्टीका एक पदाधिकारीले बताए । साउनभित्र संविधान जारी गर्ने कार्यमा नेतृत्व समेत जुट्नु परेका कारण पनि महाधिवेशनको तयारी हुन नसकेको बताइएको छ ।
वर्षा, पहिरो तथा संविधान निर्माणमा देखिएको चटारोका कारण भदौ १ गते हुनुपर्ने गाउँ तथा नगर अधिवेशन नै प्रभावित हुने देखिएको छ ।
घोषित कार्यतालिका अनुसार गाउँ र नगर अधिवेशन भदौ १ गते, क्षेत्रीय अधिवेशन भदौ ७ गते र जिल्ला अधिवेशन भदौ १० गते सम्पन्न गर्नुपर्ने छ । तर सो कार्यतालिका अनुसार अधिवेशन हुन नसक्ने कांग्रेस नेताहरुले बताएका छन् । नेताहरु नै बताएका छन् ।
महाधिवेशन पर सर्ने अर्को प्रमुख कारणका रुपमा सक्रिय सदस्यता विवाद समेत रहेको छ । विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवाद कायम छ । विवाद नसल्टाई अधिवेशन गर्न सक्ने अवस्था देखिएको छैन । तर अधिवेशन सर्ने सम्भावना बढेसँगै पाटीभित्र यसैलाई समेत विवादको विषय बनाउन थालिएको छ । विवाद सुल्झाउनका लागि गठित छानविन समितिले समेत विवाद सुल्झाएको छैन ।
महाधिवेशन पर सार्नुको कारण कांग्रेसभित्रको नेतृत्व विवाद पनि प्रमुख कारणका रुपमा रहेको छ । सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भए अर्को कार्यकाल पनि उनी नै सभापति बन्न सक्ने डर शेरबहादुर देउवा पक्षलाई छ । फलस्वरुप देउवापक्षले १६ बुँदे सहमति र संविधानको मस्यौदामाथि समेत विवाद झिक्दै आएको छ ।











