१५ साउन, काठमाडौं । छिमेकी देश भारतले नेपालको नयाँ संविधानमा हिन्दू राष्ट्र नेपाल राख्ने नराख्नेबारे चासो व्यक्त गरेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग दिल्लीमा भेट गर्दै भारतीय विदेश मन्त्री शुष्मा स्वराजले धर्मनिरपेक्षता राख्ने या नराख्नेबारे भइरहेको बहसप्रति चासो चासो व्यक्त गरेकी छिन् ।
भारतको पाँचदिने भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले उक्त चासो देखाएकी हुन्। ३० मिनेट चलेको भेटमा स्वराजले नयाँ संविधानमा हिन्दू राष्ट्र राख्न जनताको सुझाव आएको तर नेताहरुबारे यसमा केकस्तो तयारी भैरहेको छ भनी चासो व्यक्त गरेकी थिइन् ।
देउवाले संविधानमा धर्मका सम्बन्धमा के शब्दावली राख्ने भन्नेबारे छलफल भइरहेको बताएका थिए।
देउवाले सबै राजनीतिक दलले संघीयताबारे सहमतिको प्रयास गरिरहेको भन्दै सबैलाई मान्य हुने संविधान ल्याउने प्रयास जारी रहेको बताएका थिए। भारतीय विदेशमन्त्री स्वराजले नेपालमा संविधान निर्माणविरुद्ध सडकमा भइरहेका आन्दोलनहरूप्रति समेत गहिरो चासो व्यक्त गरेकी थिइन् ।
नेपालको संघीयताबारे समेत चासो राख्दै स्वराजले संघीय प्रदेशहरू कुन प्रकृतिको हुने भन्नेबारे भविष्यमा कुनै केकस्तो सम्झौता हुने सम्भावना छ भनी देउवासँग प्रश्न गरेकी थिइन् ।
‘तर संघीयता, लोकतान्त्रिक मान्यता र प्रजातन्त्रका आधारभूत विषयमा कुनै कम्प्रोमाइज नहुने देउवाले बताएका थिए ।
नेपाल भारतबीच भएको सहमतिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय परियोजना बारे समते देउवा र स्वराजबीच कुराकानी भएको थियो ।











