कन्हई यादव
१४ साउन, भैरहवा । रुपन्देहीको भन्सार तथा राजस्व गश्तीको जिम्मेवारी पाएको शसस्त्र प्रहरी आफै राजस्व मास्नमा लागी परेको छ । शसस्त्र प्रहरीका साना दर्जाका कर्मचारीहरुले रकम लिने गरेको प्रमाण सहित एक स्थानी दैनिक पत्रिकाले समाचार प्रकाशित गरेको दिन नै शसस्त्र प्रहरी निरिक्षक झोलेपोकेहरु सित बार्गेनिङ्ग गरेको भेटिएका छन ।
सशस्त्र प्रहरी बल भन्सार तथा राजस्व गुल्म डण्डामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक तुलसी राम पाण्डे सादा पोशाकमा तस्करहरुसित रकम लिने गरेका छन । सामाचार संकलनको क्रममा बिहिबार बेलहिया पुग्दा पाण्डे सरकारी मोटरसाईकलमा भारतमै पुगी झोले पोके महिलाहरुसित बार्गेनिङ्ग गरि रहेको दखिएका थिए । सरकारी मोटरसाईकल लु१ब ४३८ नम्बरको मोटरसाईकलमा सीमा पारी पुगी तस्कर महिलाहरुसित बार्गेनिङ्ग गरिरहेको अवस्थामा भेटिएका हुन् । मूख्य नाका बेलहिया भन्सार कार्यालय भन्दा पूर्व तर्फ रहेको चोर नाकाबाट बुटवल, भैरहवा, शंकरनगर लगायतका स्थानबाट आएका महिला तस्करहरुले झोला पोकामा राखेर समान तस्करी गर्ने गरेका छन । यसरी तस्करी गरिएको समानहरु भैरहवा, बुटवल लगायतका स्थानमा भण्डारण गरि मुलुकका अन्य स्थानमा पुगाउने गरिएको छ ।
यो चोर नाकाबाट दैनिक लाखौं रकम बराबरको कारोबार हुने गरेको स्थानियहरुको भनाई छ । समाचार संकलनको लागी बिहिबार सो चोर नाकामा पुग्दा महिला र शसस्त्र प्रहरीका एक जना सिपाही सित बार्गेनिङ्ग चलिरहेको थियो । सीमा पारी रहेका १०–१२ जना महिलाहरु शसस्त्र प्रहरीलाई रकम दिई वारी आउन खोजे पनि सिपाहीले उनीहरुलाई आउन दिएका थिएनन् । केही बेर पछि सोही ठाउमा शसस्त्र प्रहरी निरिक्षक पाण्डे आई पुगे शसस्त्रका सिपाहीलाई केही निर्देशन दिई उनी पारी रहेका महिलाहरुसित सरासर सरकारी मोटरसाईकलमै पुगी बार्गेनिङ्ग गरेका थिए ।
राजस्व सुरक्षाको जिम्मा पाएका सशस्त्रका अधिकारीहरुले यसरी भ्रष्ट्राचार गरेको गुनासो सर्वसाधारणले गरेका छन् ।











