१४ साउन, काठमाडौं । नयाँ संविधानको मस्यौदामाथि नागरिकले दिएका रायसुझाव र प्रतिक्रियासम्बन्धी प्रतिवेदनमा बिहीबारदेखी संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा छलफल सुरु भएको छ ।
समितिमा बिहीबारदेखि बढीमा चार दिनसम्म छलफल गर्न संविधान सभाले समय दिएको छ । जनताको सुझाव सहितको प्रतिवेदन संविधान सभाले हिजो समितिमा पठाएको हो ।
समितिको बिहीबारको बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान जारी हुँदा देशभर दिपावली हुन्छ कि हुन्न भनेर प्रश्न गरे । उनले नयाँ संविधानले शान्ति ल्याउँछ कि नयाँ द्वन्द्व जन्माउँछ भन्नेबारे गम्भीर हुनु पर्ने धारणा राखे कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि जनताले दिएको सुझाव अनुसार पुनर्विचार गर्नुपर्ने बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको मस्यौदा जनताले अस्वीकार गरेको नभइ सुझाव दिएको भन्दै उनले सबैमा सहमति सम्भव नभएको धारणा राखे ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको पक्षमा जनमत आएको तर, चार दलको सिण्डिटेकले त्यसलाई स्वीकार नगर्ने देखिएको बताए।
प्रारम्भिक मस्यौदामाथि जनताले दिएका सुझावलाई सम्बोधन गर्न समितिमा व्यापक छलफल हुने र सहमतिका आधारमा नयाँ संविधानमा समेट्ने समितिका सदस्यहरुले बताएका छन । संविधानसभाको बैठक भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।











