१४ साउन, काठमाडौँ। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले केही राजनीति पार्टीहरुले इतिहासको उल्ट्याउँदै जनविरोध संविधान ल्याउन लागेकाले घोषणा भएकै दिन च्यातेर आन्दोलनमा जाने बताए ।
विहीबार संवाद डबलीमा ‘कौशीकी’ पत्रिकाको विशेषाङ्कको विमोचन गर्दै वैद्यले संविधानसभाले जनताको संविधान नबनाउने पार्टीको धारणामा परिवर्तन नभएको बताए । “यो संविधानसभाबाट जनताको संविधान बन्न सक्दैन । हामी पश्चगामी संविधानको पक्षमा छैन । जबरजस्त पश्चगामी संविधान लादिए क्रान्तिको अर्को अध्यय सुरु हुन्छ” वैद्यले भने ।

कार्यक्रममा बोल्दै वैद्यले आफ्नो पार्टीलाई प्रधानमन्त्रीले संविधानमा सुझावको लागि बोलाएपछि छलफलको लागि गएको वैद्यले जानकरी गराए । “प्रधानमन्त्रीले हाम्रो पार्टीलाई सुझावको लागि बोलाएपछि हामी छलफल गर्न गयौँ । उहाँले नयाँ संधिवानको सुझाव के छ भन्दै कुरा सुरु गर्नुभयो ।
हामीले यो संविधान जनताको संविधान बन्न नसक्ने बताउँदै जनवादी संविधानको मस्यौदा प्रधानमन्त्रीको हातमा थमाएर आयौँ” वैद्यले भने । माओवादी आन्दोलन कमजोर र विभाजित भएको भन्दै जनविरोधी संविधान ल्याए आफूहरुले क्रान्तिको अर्को अध्यय सुरु गर्ने वैद्यले बताए ।











