१३ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौ – तराईमधेश द्रुत मार्ग (फास्ट ट्रयाक) आफैंले बनाउन सकिने भन्दै भारतीय कम्पनीलाई दिने तयारीको विरोध गरेका छन् ।
बुधबार काठमाडौमा काठमाडौं तराई मधेस फास्ट ट्रयाकका विषयमा बिज्ञहरुसंग छलफल गर्दे भट्टराईले भारतीय कम्पनीलाई फास्ट ट्रयाक बनाउन दिने सरकारको तयारीप्रति विरोध जनाउँदै विवादित विषय स्पष्ट पार्न आग्रह समेत गरे । उनले सार्वजनिक निजी साझेदारी अवधारणा भन्दा अन्य उत्तम विकल्प रहेको बताउँदै सरोकारवाला निकायसँग छलफल गरेर अघि बढ्नुपर्ने धारणा राखे । आफू प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन समेत भारतलाई दिने भित्री योजना बनाएका भट्टराईले फास्ट ट्रयाक निर्माणभारतीय कम्पनीलाई दिन नहुने भन्दै पहिलोपल्ट भारतविरोधी कुरा गरेका छन् ।
सरकारले भित्रभित्रै विभिन्न तयारी गरिरहेको अनौपचारिक जानकारी पाएको बताउँदै भट्टराईले एकाङगी रुपमा वित्तीय, व्यवस्थापकीय तथा कानुनी हिसाबले राष्ट्रिय हित प्रतिकूल हुने गरी प्रक्रिया अगाडि वढाएको भन्ने आशंका जन्माएको उल्लेख गरे । सामाजिक, आर्थिक, रणनीतिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको जनाउदै दु्रत मार्ग दोस्रो अन्तर्राष्ट्रीय विमानस्थललाई राजधानीसँग जोड्ने ‘लाइफलाइन’ हुने उनको भनाइ छ ।
काठमाडौं तराई मधेस फास्ट ट्रयाकका विषयमा छलफल गर्न डा. बाबुराम भट्टराईले इञ्जिनियर, निर्माण व्यवसायी, सभासद लगायतलाई बोलाएका थिए ।
छलफलमा सहभागी सबैले यो बाटो विदेशीलाई दिनै नहुने र नेपाल सरकारले आफैं बनाउनुपर्ने धारणा व्यक्त गरे ।











