१२ साउन, काठमाडौं । संविधानको पहिलो मस्यौदामा जनताले दिएका मुख्य विषय समेटेर संविधान जारी गर्न चार दल सहमत भएका छन् । १६ वुँदे सहमति गरेका दलहरुले धर्म र नागरिकताको विषयमा देखिएको विवादलाई नयाँ व्याख्या गर्दै टुङ्गो लगाउने बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको चारदलको बैठकले जनताका सुझावलाई परिमार्जन गर्दै संविधानमा समेटिने नेताहरुले बताएका छन । बैठक पछि एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेशवादी दलहरुसँग पनि छलफल गरी वुधबार बेलुकीसम्म उनीहरुका सुझाव लिइसक्ने जानकारी दिए ।
जनताका सुझाव समेटिएको प्रतिवेदन मंगलबार संविधान सभामा पेश हुने र वुधबारसम्म घनिभूत छलफल हुने श्रेष्ठले बताए । बेैठक पछि मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विहीबारसम्म निश्कर्ष निकालिने बताए ।
संविधानको मस्यौदामा कतिपय छुटेका विषय समेट्न, अधुरा विषय पूरा गर्न र भएका त्रुटी सच्याउन दलले आन्तरिक गृहकार्य गरिरहेका छन् । दलहरुले यही साउनको मसान्तसम्म संविधान ल्याइने प्रतिबद्धता दोहोरयाएका छन् । असन्तुष्ट दलहरुसँग विभिन्न चरणमा अनौपचारिक छलफल भैरहेको समेत नेताहरुले जानकारी दिएका छन् ।











