१२ साउन, काठमाडौं । १६ वुँदे सहमति गरेका चारदलले संविधानको मस्यौदामा विरोध गरिरहेका असन्तुष्ट दलहरुसँग मंगलबार बिहान छलफल गर्दैछन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुई चरणमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले असन्तुष्ट दलहरुसँग छलफल थाल्ने निर्णय गरेको हो। असन्तुष्ट रहेका मधेस केन्द्रित दल तथा अन्य पक्षहरुलाई पनि समेट्ने उद्देश्यले चार दलले विरोधी दलहरुलाई छलफलका लागि डाकेका हुन्। संविधान सभाबाहिरका दलहरुसँग समेत परामर्श गर्ने चार दलको तयारी छ ।

संविधानको मस्यौदाप्रति असन्तुष्ट दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय ४ दलको भएको एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। असन्तुष्टसँग छलफल चल्दै गरे पनि साउनभित्रै संविधान ल्याउने तयारी र प्रकिया प्रक्रिया भने नरोकिने उनले बताए ।
संविधानमा जनताबाट आएका सुझाव समेट्ने बारेमा समेत ४ दलबीच निरन्तर छलफल भएको छ ।
संविधान निर्माणको प्रक्रिया अगाडि बढाउन आज संविधान सभाको बैठक समेत डाकिएको छ ।











