११ साउन, काठमाडौं । भारतको मेघालयको एक कार्यक्रममा सम्बोधन गर्दागर्दै ढलेका भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको निधन भएको छ । भाषण गर्दागर्दै ढलेका कलामको उपचारको क्रममा सोमबार साँझ निधन भएको हो।

भारतको मेघालयमा पर्ने सिलोङमा इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताको रुपमा कलाम उपस्थित थिए । सोही कार्यक्रममा सम्बोधन गर्दागर्दै कलाम बेहोस भएर ढलेका थिए ।
‘मिसाइल मेन’को नामले परिचित कलामको सिलोङस्थित बेथानी अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेलगत्तै निधन भएको हो । उनी ८४ वर्षका थिए ।
कलाम सन् २००२ देखि २००७ सम्म भारतका एघारौं राष्ट्रपति बनेका थिए । एपिजे अब्दुल कलामको जन्म १५ अक्टोबर १९३१ मा रामेश्वरममा भएको थियो । उनको पूरा नाम अबुल पकिर जजैलाब्दिन अब्दुल कलाम हो । उनलाई भारत रत्न, पद्म भूषण लगायतका विभूषित गरिएको थियो । उनका विङ्स अफ फायर, इण्डिया २०२० लगतयका पुस्तक प्रकाशित छन् ।











