११ साउन, काठमाडौं । भ्रष्टाचारको पुरानो मुद्दामा जेलमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेलाई डा. राष्ट्रपति रामवरण यादवले माफी दिएका छन्। पञ्चायती कालमा राजा वीरेन्द्रले भ्रष्ट्राचारको मुद्दामा कैद मिनाहा दिएको दावी गरेका पाण्डेको प्रमाण नपुगेका कारण उनी जेल गएका थिए । पञ्चायपति बहुदलीय प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपछि पनि पाण्डेले जेल मिनाहा पाएका छन् ।
उनीसहित २१ जनालाई यादवले माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति डा. यादवले पाण्डेसहित २१ जनाको सजाय तथा जरीवाना माफी गरेका छन्।
पाण्डेलाई गत चैत ३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित निवासबाट पक्राउ गरेको थियो।
पुनरावेदन अदालतले २०३९ सालमा भ्रष्टाचार मुद्दामा गरेको जरिवाना र कैद सजाय मध्ये १ वर्ष ९ महिना २७ दिन भुक्तान गर्न बाँकी रहेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा परेको थियो।

पक्राउ परेदेखि नै उनी कारागारमा बसेका छैनन्। मुटुको समस्या देखाएर उनी कमलपोखरीस्थित एक अस्पतालमा बस्दै आएका थिए। खानेपानी तथा ढल निकास विभाग अन्तर्गत लेखा अधिकृत रहेका बेला पाण्डेलाई २०४० सालमा अदालतले भ्रष्टाचारी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो ।
पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नका लागि उम्मेदवारी दिएदेखि अध्यक्ष निर्वाचित भएसम्म उनलाई जेल पठाउन महासंघकै पराजित उम्मेदवार भाष्कराज कर्णिकार कम्मर कसेर लागेका थिए ।
पाण्डे जेल गएपछि महासंघले बाँकी अवधिको लागि निर्वाचन गरेर नयाँ अध्यक्षका रुपमा पशुपति मुरारकालाई चुनेको छ । कार्यकाल बाँकी हुँदै पाण्डे रिहा भएपछि उनको पद के हुन्ने भन्ने नयाँ बहस सुरु भएको छ ।











