११ साउन, काठमाडौं । संविधानसभाको बैठक मंगलबार बोलाइएको छ । व्यवस्थापिका संसदको सोमबारको बैठकमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार साँझ ५ बजे संविधानसभा बैठक बोलाइएको जानकारी दिए । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन बैठक स्थगित भएको थियो । जिल्लाबाट प्राप्त सुझावलाई एकीकृत गरेर नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाउने भएपछि संबिधानसभाको बैठक बोलाइएको हो ।

यसअघि सोमबार बसेको संसद् बैठकमा सभासदहरु आनन्द पोखरेल, रामनारायण बिडारी, डिल्लीप्रसाद काफ्लेलगायतले समासामायिक घटना तथा सरकारले भूकम्पपीडितको राहत र पुनर्निर्माणमा कदम नचालेको भन्दै आपत्ति जनाएका थिए ।
उनीहरुले सरकारको ढिलाइका कारण विनियोजन विधेयकमाथि छलफल रोकिएकाले अविलम्ब सुचारु गर्न माग गरेका थिए ।











