११ साउन, काठमाडौं । नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ । शाहको स्वास्थ्य सन्तोषजनक रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले सोमबार जानकारी दिएका छन् ।
आइतबार मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेवल कार्डियोभेर्टर डेफिव्रेलेटर आईसीडीको सफल प्रत्यारोपण गरिएको थियो ।
अस्पतालले सोमबार प्रेस विज्ञप्ति निकालेर आईसीडीले सामान्य कार्य गरेको जनाएको छ। पारसको स्वास्थ्य स्थिति पनि सामान्य र सन्तोषप्रद रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिए ।
शरीरमा अक्सिजनको मात्रा सामान्य रहेको, सीसीयू भित्रै शाह सामान्य रुपमा हिँडडुल गरेको, सामान्य गतिविधिहरू गरेको र आफूलाई आराम महसुस भएको बताएका छन् ।
उनको स्वास्थ्यमा हालकै गतिमा सुधार भइरहेमा मंगलबार बिहानसम्ममा अस्पतालको प्राइभेट वार्डमा सार्न सकिने नर्भिक अस्पतालले जानकारी दिएको छ ।
शाहको घाउको पहिलो ड्रेसिङ समेत मंगलबार गरिने भएको छ ।












